सुत्केरी स्याहार कसरी गर्ने ?

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७८, बुधबार

सुत्केरी स्याहार भन्नाले विशेषगरी बच्चा जन्मेको ६ हप्तासम्मलाई बुझिन्छ । यो एक परिवारका लागि र एउटी आमाका लागि खुसीको क्षण त हुँदै हो, ९ महिनासम्म आफ्नो गर्भमा बच्चा हुर्काएर जन्म दिने आमाले समायोजन हुनुपर्ने र उपचारका साथै स्याहार पाउनुपर्ने समय पनि हो ।

यो समयमा महिला पूरै बच्चासँग लीन हुन्छन् । यस अवस्थामा पूर्ण रूपमा आराम गर्नुपर्छ, साथै सुत्केरीपछिको चेकअपका लागि अस्पताल गइरहनुपर्छ ।

मातृत्वको समायोजन
महिलालाई विशेषगरी पहिलो बच्चा प्राप्तिपछि सुरुवाती क्षणमा प्रत्येक दिनको व्यस्थापन निकै चुनौतीपूर्ण हुन्छ । बच्चाको स्याहारमा सम्पूर्ण ध्यान दिनुपर्ने हुन्छ भने आमाले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने हुन्छ ।

प्रायः नयाँ आमाहरू कम्तीमा ६ हप्तासम्म काममा फर्किन सक्दैनन् । कामकाजी महिला छन् भने एकातिर कामको पनि मानसिक चाप हुन्छ भने अर्कोतर्फ शरीर सामान्य अवस्थामा फर्किन समय लाग्छ ।

नयाँ बच्चालाई पटक–पटक आमाको दूध चुसाउनुपर्छ । बच्चामा पनि हरेक दिन परिवर्तन देखापर्छ । आमाले निदाउन पनि राम्रोसँग नपाउने हुनाले थकानका साथै मानसिक असन्तुलन पनि देखिन सक्छ । तर, खुसीको कुरा, यी सब कुरा बिस्तारै नियमित बन्दै जान्छन्, अर्थात् बच्चाको र आमाको परिवारमा समायोजन हुँदै जान्छ ।

घरमा नयाँ बच्चा आएपछि पूरै परिवारको संरचनामा बदलाव आएको अनुभूति हुन्छ । यो समयमा श्रीमान्–श्रीमतीले एक–अर्कालाई राम्रोसँग समय दिन पनि भ्याउँदैनन् । यसबाट उत्पन्न हुने कठिनाइले केही असमझदारी पनि सिर्जना हुन सक्छ ।

तर, धैर्य र समझदारीले बिस्तारै समाधान पनि दिँदै जान्छ । हरेक परिवारमा परिवर्तन आउँछन् भन्ने बुझ्नुपर्छ । बच्चा हुर्कंदै गर्दा सबै असहजता भुल्दै गइन्छ ।

प्रसूतिपश्चात् ध्यान दिनुपर्ने कुरा

१. प्रशस्त आराम गर्नुहोस्
सुत्केरी अवस्थामा मुख्य ध्यान पुयाउनुपर्ने कुरा प्रशस्त आराम हो । बच्चा सुतेको समयमा आमा पनि सुतिहाल्नुपर्छ ।

२. सरसफाइमा ध्यान दिनुहोस्
सुत्केरी समयमा ध्यान नदिएर जोखिम निम्त्याउन सक्ने अर्को महत्वपूर्ण कारण सरसफाइको कमी हो । आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सरसफाइ महत्वपूर्ण कुरा हो । सानो लापरबाहीले पनि बच्चामा इन्फेक्सनको जोखिम हुने हुँदा निकै सचेत हुनुपर्छ।

३. सहयोग लिनुहोस्
परिवार तथा साथीभाइसँग सहयोग लिन नहिच्किचाउनुहोस। बच्चालाई खाना तयार गर्ने, लुगाफाटोको व्यवस्थापन गर्नेलगायत कुरामा आफैँ नखटुनुहोस्।

४. स्वस्थ खाना खानुहोस्
सुत्केरी अवस्थाबाट छिटो रिकभर हुने एउटा मात्र उपाय भनेको स्वस्थ र पोसिलो खाना हो। यो समयमा महिलाको टिस्यु ड्यामेज हुने भएकाले टिस्यु रिकभरीका लागि पनि पौष्टिक आहार जरुरी हुन्छ। आमाको दूध बच्चाले खाइरहने हुनाले झोलिलो खानेकुरा पनि खानुपर्छ। तर, धेरै घिउ भने खानुहुँदैन । प्रोटिनयुक्त खाना प्रशस्त खानुपर्छ।

५. सन्तुलित व्यायाम गर्नुहोस्
धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ। बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech