बाँके र बर्दियाका मेडिकल अधिकृतहरुलाई प्रशिक्षक–प्रशिक्षण तालिम

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७८, सोमबार

नेपालगन्जः अपाङ्गता व्यवस्थापन तथा पुनःस्थापना सम्बन्धी मेडिकल अधिकृतहरुका लागि आजदेखि नेपालगन्जमा प्रशिक्षक–प्रशिक्षण तालिम सुरु भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकुको आयोजना तथा विश्व स्वास्थ्य संगठन डब्लुएचओको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच दिने प्रशिक्षक–प्रशिक्षण तालिम सुरु भएको हो ।

खासगरी अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ र उनीहरुको पुनःस्थापनामा चिकित्सकहरुको भूमिका कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर तालिमको आयोजना गरिएको तालिम संयोजक समेत रहनु भएका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र गिरीले जानकारी दिनुभयो ।

कुन प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो प्रकारको सहायक सामाग्री आवश्यक पर्ने हो ? ती सामाग्रीको प्रयोग कसरी गर्न सकिन्छ ? त्यसको नापजाँच गर्नेदेखि लिएर अपाङ्गता परिचयपत्र वितरणमा कुन प्रकारको अपाङ्गता भएका व्यक्तिलाई कुन खाले परिचयपत्रको सिफारिस गर्नेसम्मको बारेमा मेडिकल अधिकृतहरुले तालिममा सिक्ने छन् ।


बाँके र बर्दियाका विभिन्न अस्पतालहरुमा कार्यरत २२ जना मेडिकल अधिकृत सहभागी तालिम पाँच दिनसम्म चल्नेछ । तालिमपछि उनीहरुले यस्तै खाले तालिम दिएर अरुलाई प्रशिक्षित पार्ने जनस्वास्थ्य अधिकृत गिरीले बताउनुभयो ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा रविन्द्र बास्कोटाको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, भेरी अस्पतालका मेसु डा वीरेन्द्रबहादुर चन्दलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

अपाङ्गता व्यवस्थापन तथा पुनःस्थापनाका सवालमा विशेषज्ञता हासिल गर्नुभएका डा राजु ढकाल, डा उत्तम घिमिरे, अमितरत्न बज्राचार्य, विनय कँडेलले तालिमको सहजिकरण गरिरहनुभएको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकलपर्सन मानव नेपालीले जानकारी दिनुभयो ।

 

 

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech