नेपालगन्जमा देखियो कालाजारः एकै परिवारका तीन विरामी (कालाजारबाट जोगिन डा पाण्डेले दिए यस्ता सुझाव)

    • प्रियास्मृति ढकाल

  • १३ चैत्र २०७८, आईतवार

नेपालगन्जः नेपालगन्जमा एकैघरमा तीन जनामा कालाजार पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ बसर्पाक क्षेत्रमा बस्दै आएका तीन बाबु छोरामा कालाजार देखिएको हो ।

अहिले तीनै जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । एकै परिवारका तीन जनामा कालाजार देखिएपछि चिकित्सकहरुले यसलाई गम्भीररुपमा लिएका छन् ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेका अनुसार एक हप्ता अघि करव ५० वर्षीय बुवा र उहाँका करिव २५ र २२ वर्षीय दुई छोरामा कालाजार देखिएको हो ।

५० वर्षीय ती व्यक्ती केही समय अघि भारतमा मजदुरी गरेर फर्किएका थिए ।  उनलाई दुई महिना अघि पनि कालाजार देखिएको थियो । दुई महिनापछि फेरि कालाजार बल्झिएपछि एक हप्ता अघिमात्र उनी अस्पताल भर्ना भएका हुन् ।

कालाजारसँग मिल्दोजुल्धो लक्ष्ण देखिएपछि परीक्षण गर्दा दुई छोरामा पनि कालाजार पुष्टि भएको हो । भारतसँग सिमाना जोडिएका पूर्वीतराईका बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, मोरङ, झापा र उदयपुर गरी जम्मा १२ जिल्ला कालाजारको जोखिममा छन् ।

पछिल्लो समय साविकको मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि फाट्फुट् विरामी आउने गरेका थिए । तर यो पटक भने नेपालगन्जमा त्योपनि एउटै परिवारका तीन सदस्यमा कालाजार देखिएपछि नेपालगन्ज कालाजारको जोखिममा देखिएको चिकित्सकहरु बताउँछन् । जलवायु परिवर्तनले गर्दा यो रोग फैलिन थालेको डा पाण्डेको ठम्याइ छ ।

के हो कालाजार ?
कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाई)ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा यो रोग सार्ने गर्छ । तराईमा यस्ताखाले भुसुनाहरू गोबरमाटोले लिपेर ओसिलो भएको घरको भित्ताका चिरा र प्वालहरूमा बस्ने गर्छन् । गाईभैंसीको गोठ, फोहोरमैला थुप्रिएको ठाउँ, दाउरा राख्ने ठाउँ, मुसाको दुलो आदिमा यस्तो भुसुनाले फुल पार्छ । लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो ।

लक्षण तथा चिन्ह
कालाजारको लक्षण औलो रोगसँग पनि मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबिना यसको पहिचान हुन गाह्रै पर्छ । कतिपयले टाइफाइड भन्दै औषधि खाने गरेको पनि पाइन्छ । लक्षण चिन्ह देखिनासाथ परीक्षण गर्नुनै उपयुक्त विकल्प हो । ज्वरो आइरहन्छ र एकै दिनमा बढ्ने र घट्ने हुन्छ । पसिना आउँछ । फियो र कलेजो ठूलो भई पेट पनि सुनिन्छ । कमजोरी र आलस्य महसुस हुन्छ । खान मन लाग्दैन । तौल घट्दै जान्छ ।शरीरका विभिन्न भागमा कालो दागहरु देखिन्छ ।

उपचार
यसको उपचार सरकारले निःशुल्क उपलब्ध गराएको छ । भुसुनाको टोकाइबाट रोग लागिसकेको अवस्था छ र कालाजार पोजिटिभ देखिए पनि फियो सुनिएपछि मात्र उपचार थालिने भएकाले तत्कालै स्वास्थ्य संस्था लैजानुपर्छ । रोगले ठूलो रूप लिएको अवस्थामा विशेष किसिमको उपचार आवश्यक पर्छ ।

बच्ने उपाय
रोग सार्ने भुसुना अँध्यारो र फोहोर ठाउँमा बस्ने हुनाले घरवरपर सरसफाइ गर्नुपर्छ । सधैं झुल टाँगेर मात्र सुत्नुपर्छ । साँझ परेपछि घरबाहिर बस्दा हातखुट्टासहित पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।

( डा पाण्डेसँग गरिएको कुराकानीका आधारमा)

  • १३ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech