कौशिल्या अस्पतालमा फिजियोथेरापीप्रति विरामीको बढ्दो आकर्षण (के हो फिजियोथेरापी ?)

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७८, आईतवार

बासगढी:  बर्दियाको बासगढीस्थित कौशिल्या अस्पतालमा फिजियोथेरापीप्रतिको आकर्षण र विश्वास विरामीहरुलाई बढ्दै गएको छ ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेसी दुख्ने, झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षघात जस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आएका विरामीहरु थेरापी पछि निको हुनेक्रम बढेसँगै अस्पतालप्रति विरामीको विश्वास बढेको हो ।

अहिले दैनिक १० देखि १५ जना विरामी थेरापीका लागि अस्पतालमा आउने गरेको फिजियोथेरापिष्ट आसुकुमार शाहले जानकारी दिनुभयो । अस्पतालले लेजरथेरापीबाहेक अन्य सबै थेरोपी सेवा उपलब्ध गराएको छ ।

अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले दक्ष जनशक्ति र गुणस्तरीय उपकरणबाट निकै कम मूल्यमै सेवा प्रवाह गरिएको जानकारी दिनुभयो ।

बर्दियाबासीको आर्थिक अवस्था सबैलाई केलाएर सस्तो र गुणस्तरीय सेवा प्रवाह गरिएको जानकारी दिँदै उहाँले अस्पतालले जेष्ठ नागरिक, अपांगता, एकल महिला, अनाथ बालबालिका, मुक्तकमैयालगायतलाई अनिवार्य १० प्रतिशत छुटको व्यवस्था गरिएको पनि न्यौपानेले बताउनुभयो ।

के हो फिजियोथेरापी ?
सबै रोगहरु औषधि खाएर मात्रै पूर्ण रुपमा निको नहुन सक्छन् । कतिपय रोगहरु औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधि नखाई व्यायाम, हातले गर्ने उपचार वा विद्युतीय उपकरणको माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो ।

सिधा अर्थमा भन्दा प्रशिक्षित फिजियोथेरापिस्टद्वारा व्यायामको माध्यमबाट शरीरको मांसपेशीहरुको सही अनुपातमा सक्रिय गर्ने विधा नै फिजियोथेरापी हो । नेपालीमा यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेसी दुख्ने, झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षघात जस्ता स्वास्थ्य समस्याको लागि यो उपचारविधि औषधिभन्दा प्रभावकारी मानिन्छ ।

कस्ता व्यक्तिको लागि प्रभावकारी हुन्छ यो पद्धति ?

हिजोआजको व्यस्त जीवनशैलीमा मान्छेले आफ्नो बारेमा ध्यानदिन सक्दैन । जो मान्छे समय बचाउनको लागि मोटरसाइकल चढ्छ र कार्यालयमा एउटै पोजिसनमा धेरै समय कुर्सीमा बस्ने गर्छन् भने उनीहरुमा धेरै कम्मर दुख्ने वा अन्य शारीरिक समस्याहरु हुन सक्छन् । घण्टौंसम्म कुर्सीमा बस्ने, गलत तरिकाले बस्ने र व्यायाम या खेलको समयमा हुने दुखाइ लगायतबाट पीडित व्यक्तिका लागि यो विधि प्रभावकारी हुन्छ ।

फिजियोथेरापी सबै किसिमका रोगको निवारणका लागि प्रभावकारी हुन्छ । जस्तो हड्डी खिइएको होस् वा हाडजोर्नीसम्बन्धी अरु समस्यामा प्रयोग हुने फिजियोथेरापीलाई अर्थोपेडिक फिजियोथेरापी भन्ने गरिन्छ । मुटुसम्बन्धी फिजियोथेरापीलाई कार्डियोथेरापी जस्ता नामले चिनिन्छ । यसरी अनेकथरीका समस्याको एउटै निदानको उपाय हो फिजियोथेरापी ।

फिजियोथेरापी कुन उमेरकाको लागि ?

फिजियोथेरापी यही उमेर समूहकाहरुको लागि प्रभावकारी हुन्छ भन्ने छैन । यो बालबालिकादेखि वृद्धवृद्धासम्मले लिन सक्ने उपचार पद्धति हो । कुन उमेरमा कस्तो रोग लागेको छ ? त्यसैको आधारमा कति उमेरका मान्छेले प्रयोग गर्ने भन्ने हुन्छ ।

त्यस्तै, फिजियो थेरापी कति समयसम्म गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कतिपयले एक÷दुई दिन फिजियोथेरापी गरेर प्रभावकारी भएन भन्दै यसको विकल्प सोच्ने गरेको पनि पाइन्छ । तर रोगको प्रकृति र मानिसको स्वास्थ्यको अवस्था हेरेर यसलाई कति समयसम्म निरन्तरता दिनुपर्छ भन्ने यकिन गरिन्छ ।

के–के छन् फिजियोथेरापीका फाइदाहरु ?

फिजियोथेरापीको मुख्य फाइदा भनेको नै औषधिको प्रयोगविना नै स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने गर्छ । औषधिको प्रयोग नहुने भएकोले यसमा कुनै साइडइफेक्टको जोखिम हुँदैन । त्यसैले औषधिको प्रयोगमा हुने कुनै पनि प्रतिक्रियाबाट बच्न सकिन्छ ।

(बर्दियाको बासगढीस्थित कौशिल्या अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट आसुकुमार शाहसँग गरिएको कुराकानीमा आधारित)

 

  • १३ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech