बाँकेमा पाँच वर्षमाथिकालाई फाइजर–बायोएनटेक खोप लगाउने तयारी

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७८, शनिबार

नेपालगन्जः बाँकेमा पाँच वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउन तयारी सुरु गरिएको छ । नेपाल सरकारले पाँच वर्षदेखि माथिकालाई कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी गरेपछि बाँकेमा खोपको भण्डारण, ढुवानी र प्रयोगसम्बन्धी अभिमुखीकरण तथा योजना गोष्ठि गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा स्वास्थ्यका लागि सक्षम प्रणालीको आर्थिक तथा प्राविधिक सहयोगमा शनिवार नेपालगन्जमा आयोजित गोष्ठिमा पालिकाका स्वास्थ्य शाखाका संयोजकहरु, खोप फोकलपर्सन, खोप कार्यकर्तालाई अभिमुखिकरण गरिएको जिल्लाका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

गोष्ठिको सहजकर्ता समेत रहनुभएका उहाँले सहभागीहरुलाई खोपको भण्डारण, ढुवानी र प्रयोगसम्बन्धी जानकारी गराउनुभएको थियो । स्वास्थ्यका लागि सक्षम प्रणालीकी रोशनी पुनका अनुसार नौ चरणमा गरेर खोप फोकलपर्सन र वडाका खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण गरिएको जानकारी दिनुभयो ।

सरकारले उमेर समूह छुट्याएर कोरोनाविरुद्धको खोप दिइरहेको छ । १२ वर्षदेखि माथिकालाई खोप दिइसकेको सरकारले अव पाँच वर्ष माथिकालाई खोप दिने तयारी गरेको छ ।

सरकारले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गरिसकेकाले त्यो आउने वित्तिकै खोप लगाउने खोप फोकलपर्सन श्रेष्ठले बताउनुभयो । बाँकेमा अहिलेसम्म ९२ प्रतिशतले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् ।

६० प्रतिशतबढीले खोपको दुवैमात्रा पूरा गरेका छन् । ७० हजार मानिसहरुले खोपको मात्रा पूरा गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो ।

यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ६२ हजारले खोपको मात्रा पूरा गरेका छन् । ६५ हजारले पहिलो डोज लगाएका थिए ।

खोपको भण्डारण, ढुवानी र प्रयोगसम्बन्धी गोष्ठिमा सहभागी पालिकाका स्वास्थ्य शाखाका संयोजकहरु, खोप फोकलपर्सन, खोप कार्यकर्तालाई भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठले समेत प्रशिक्षण दिनुभएको थियो ।

  • १२ चैत्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech