भेरी अस्पतालको कोभिड वार्ड आज पहिलो पटक खाली

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पतालको कोभिड आइसोलेसन वार्ड पहिलो पटक आज खाली भएको छ । कोरोना भाइरस संक्रमण सुरु भएपछि २०७७ बैशाख १९ गते बाँकेमा कोरोनाको पहिलो केश फेला परेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकास्थित जोलहनपुरुवाका एकबृद्धमा भाइरस संक्रमण पुष्टि भएको थियो । त्यतिबेला सरकारले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको थियो ।

भेरी अस्पतालको निगरानीमा रहनेगरी स्थापना गरिएको कोरोना अस्पतालमा भेरीकै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गएर कोरोना संक्रमितको उपचार गर्दै आएका थिए ।

नेपालगन्जबाट चिकित्सकहरु आउजाउ गर्न असहज भएपछि साउन महिनामा कोरोना अस्पताल भेरीमै सारिएको थियो । त्यसपछि संक्रमित विरामीको भेरीबाटै उपचार सुरु गरिएको थियो ।

करिव दुई वर्षपछि भेरीको कोरोना विशेष अस्पतालमा आज संक्रमित शून्य भएको हो । जिल्ला बाहिरका एकजना संक्रमित पनि निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना वार्ड रित्तो भएको छ ।

कोरोना महामारीमा प्रभावकारी र गुणस्तरीय उपचार सेवा प्रवाह गरेर भेरी अस्पतालले उदाहरनिय कार्य गरेको भन्दै सबैले प्रशंसा गर्ने गरेका छन् ।

अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले अस्पतालमा कोरोनाका विरामी उपचार सुरु गरेदेखि आज पहिलो पटक कोरोना विरामी शून्य भएको बताउनुभयो ।

दोस्रो लहरको महामारीमा अस्पतालमा बेड अभावमा अस्पतालको ग्यालरी तथा बाहिर पालनै टाँगेर संक्रमित विरामीको उपचार गर्नुपर्ने परेको थियो ।

जिल्ला बाहिरबाट ठूलो संख्यामा आउने संक्रमित विरामीको लागि भेरी अस्पताल जिल्लाको एउटामात्र विकल्प बनेको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो ज्यानको प्रवाह नगरेर सेवा गरेकै कारण कैयौंले मृत्यु जितेर अहिले सहज जिवनयापन गरिहेका छन् ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech