बाँकेमा ६१ बालबालिका क्षयरोगको चपेटामा, कस्ता बालबालिका जोखिममा ?

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा चालू आर्थिक वर्षको ६ महिनामा ६१ जना बालबालिकामा क्षयरोग देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार १५ वर्ष मुनिका ६१ बालबालिकामा क्षयरोग देखिएको हो ।

त्यसमा चार वर्ष मुनिका बालबालिकाको संख्या सबैभन्दा धेरै ५१ रहेको छ । त्यस्तै चार देखि १५ वर्ष उमेर समूहका १० जना बालबालिकामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीले जानकारी दिनुभयो ।

ती बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग जस्तै ग्रन्थि, आन्द्रा, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखामा पनि देखिएको छ । क्षयरोग नङ र कपालबाहेक अन्य सबैमा हुने भएकाले सचेत बन्नु पर्ने उहाँको भनाइ छ ।

कुपोषित बालबालिका, एचआइभी पोजिटिभ, मधुमेह रोगी, क्षयरोग भएको व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने, घरबारविहीन र सडक बालबालिका क्षयरोगको उच्च जोखिममा पर्ने पनि उहाँको भनाइ छ ।

ज्वरो आउनु, तौल घट्नु,शारीरिक वृद्धि नहुनु, लामो समयसम्म एकनासले खोकी लाग्नु, ग्रन्थिहरु सुन्निनु, खान मन नलाग्नु क्षयरोगका लक्ष्ण हुन् । उहाँका अनुसार, नवजात शिशुलाई बिसिजी खोप दिने, क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने, नियमित रुपमा औषधिको सेवन गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिएमा क्षयरोगबाट बालबालिकालाई जोगाउन सकिने फोकलपर्सन नेपालीले बताउनुभयो ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech