दुई वर्षपछि बाँकेमा सक्रिय संक्रमित शुन्य, कोभिड अस्पतालका वेड पनि खाली

    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः करिव दुई वर्षपछि आज पहिलो पटक बाँकेमा कोरोना सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । २०७७ साल बैशाख १९ गते बाँकेमा कोरोनाको पहिलो केश फेला परेको थियो । त्यसपछि संक्रमित थपिने र घट्नेक्रम चलिरहयो ।

करिव दुई वर्षको यो अवधिमा बाँकेमा २१ हजार ३ सय २७ जना कोरोना संक्रमित पुष्टि भए । त्यसमा २० हजार ९ सय ७५ जना निको भए भने ३ सय ५२ जनाले ज्यान गुमाए ।

सबैभन्दा धेरै मानवीय क्षती दोस्रो लहरमा भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । तेस्रो लहरमा संक्रमित थपिएपनि मानवीय क्षती भने निकै न्यून भएको पनि उहाँले जानकारी दिनुभयो ।

सक्रिय संक्रमित शुन्यमा झरेपछि बाँके कोरोनामुक्त हुने चरणमा पुगेको छ । पहिलो र दोस्रो चरणमा बाँके कोरोनाको ‘हटस्पट’ नै बनेको थियो । भारतसँगको खुला सीमानाकाका कारण भारतबाट फर्किएकाहरुबाट संक्रमण तीब्रगतिमा फैलिएकाले बाँके संक्रमणको चपेटामा परेको थियो ।

संक्रमण घटेसँगै भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसन वार्डमा रित्तिएको छ । अहिले त्यहाँ एक जनामात्रै विरामी उपचाररत् छन् ।

उनी पनि जिल्ला बाहिरको संक्रमित हुन् । कोभिड आइसोलेसन वार्डमा चिकित्सक तथा स्वास्थ्यकर्मीको धपेडी कम भएको छ ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech