दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७८, बुधबार

दाङ: सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । जिल्लाका १० वटै पालिकामा आम औषधि सेवन कार्यक्रम जारी छ । यस वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।

हालै घोराही–२ रामपुरमा ३३० जनाको नमूना जाँच गर्दा ११ जनामा र देउखुरीको सिसहनियामा ३१४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । कार्यालयको आँकडाअनुसार हातखुट्टा सुन्निएका २८९, हाइड्रोसिल भएका एक हजार ६१४ र दुवै भएका १३२ जना हात्तीपाइलेका रोगी रहेका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

एक हजार स्वास्थ्यकर्मीहरू औषधि खुवाउन घरदैलोमा रहेका छन् । लगातार छ वर्षसम्म औषधि सेवन गरेमा यो रोगबाट बच्न सकिन्छ तर दाङमा आम मानिसले औषधि सेवन नगरिदिँदा १२औँ वर्षका रूपमा यस वर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन भएको उहाँले बताउनुभयो । गत वर्ष दाङमा ६४ प्रतिशत नागरिकले मात्रै औषधि खाएका थिए । सबै नागरिकले नियमित औषधि सेवन नगर्दा अभियान नै प्रभावित हुँदै आएको छ ।

सबै पालिकाहरुको पूर्ण विवरण आउन बाँकी रहेकाले अहिलेसम्म ५० प्रतिशतले औषधि खाएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो । पालिकाहरूले औषधि खुवाउनका लागि एकदेखि दुई हप्ताको समय छुट्याएका छन् । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा हात्तीपाइले रोगको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भनेर बुझ्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।

ती लक्षणहरु केही घण्टाभित्र आफैँ हराएर जाने उहाँले बताउनुभयो । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिइएको प्रमुख शाहीको भनाइ छ । अहिले पनि जिल्लामा चार प्रतिशतमा हात्तीपाइलेको परजीवी रहेको छ । कम्तीमा दुई प्रतिशतभन्दा तल झार्ने गरी आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech