‘आफ्नो मुख स्वास्थ्यमा गर्व गरौं’

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७८, आईतवार

धेरै दीर्घ रोगहरूको सुरुवाती लक्षण मुखमा सामान्य परिवर्तन आएर देखिन्छ भने अर्कोतर्फ मुख स्वस्थ राख्न सकिएन भने त्यसकै कारणले अन्य धेरै रोगहरूको सिकार बन्नुपर्ने अवस्था पनि आउँछ । त्यसकारण शारीरिक रुपमा स्वास्थ रहनलाई मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

विश्व दन्त महासंघको अगुवाइमा सबैले न्युनतम मुख स्वास्थ्य प्राप्त गर्ने मुख्य लक्ष्यका साथ हरेक वर्ष मार्च २० गतेका दिन विश्व मुख स्वास्थ्य दिवस विश्वभरी नै विविध कार्यक्रम गरेर मनाइन्छ ।

सन २००२१-२००२३ सम्मको विश्व मुख स्वास्थ्य दिवशको नारा ‘आफ्नो मुख स्वास्थ्यमा गर्व गरौं’ राखिएको छ । मुख स्वास्थ्य बहुआयामिक हुने र यसमा दुखाइ, पीडा र असुविधा नहुनु मात्र नभई आत्मविश्वासका साथ मुख सम्बन्धि कुनै पनि रोग बिना अनुहारको अभिव्यक्ति मार्फत बोल्ने, मुस्कान, गन्ध, स्वाद, स्पर्श, चपाउने, निल्ने र भावनाहरू व्यक्त गर्ने क्षमता समावेश हुन सक्नुलाई विश्व दन्त महासंघले स्वास्थ मुखको रुपमा परिभाषित गरिएको छ ।

मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूको सजिलै रोकथाम गर्न सकिने भएतापनि विश्वभर नै धेरै मानिसहरु मुख तथा दाँत सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित रहेको धेरै अध्ययनहरुले देखाएको छ ।

विकसित देशहरुमा मुख्यतः खानपिनको कारणबाट धेरै मुख तथा दाँत सम्बन्धी रोगहरु लागेको पाइन्छ भने विकाशिल देशहरुमा भने जनचेतनाको र स्वास्थमा पहुँचको कमि कै कारण पनि धेरै मानिसहरूमा मुख सम्बन्धी समस्या देखिने गरेका छ्न् । विभिन्न देशमा भएका फरक फरक अध्ययनले शिक्षा, आर्थिक अवस्था र सामाजिक अवस्थाको मुख स्वास्थ्यसँग गहिरो सम्बन्ध रहेको कुरा देखाएको छ ।

हाम्रो जस्तो देशमा मुख तथा दाँत सम्बन्धी धेरै समस्याहरुको मुख्य कारकतत्व मध्येको जनचेतनाको कमि, आर्थिक, सामजिक अवस्था अनि सरकार र सरोकारवाला निकायहरूले मुख स्वास्थ्यलाई उपेक्षामा पार्नु नै हो । यसको उदाहरणको निम्ति नेपालमा पनि सन् १९९७ सम्ममा धेरै कम मानिसहरूले फ्लोराइडयुक्त दन्त मन्जनले दाँत माझ्ने गरेको भएपनी त्यसपश्चात दन्तमन्जनमा भएको फ्लोराइड तत्वले दाँतमा सडन हुनबाट रोकथाम गर्छ भन्ने कुराको जनचेतना जनस्तरमा पुगेपश्चात् हाल ९० प्रतिशतको हाराहारीले फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

विश्वभरि नै अहिले स्वास्थ्य क्षेत्रमा उपचारात्मक सँगै रोगहरुबाट बच्न रोकथामतर्फ पनि उत्तिकै ध्यान केन्द्रित हुँदै आइरहेको छ । दाँत तथा मुख सम्बन्धी धेरै समस्यामा सहनै नसकिने गरी दुखाइ हुने हुँदा अन्य दुखाइभन्दा दाँतको दुखाइ अलि पृथक र सहन अलि कठिन पनि हुन्छ । तर दाँत तथा मुखमा दुखाइ हुनु मात्र अस्वस्थ हुनु होइन । सामान्य मानिसले मानिस खुसी छ, हाँसेको छ, प्रसन्न छ र दुखाइ छैन भन्ने कुरालाइ एउटा कोणबाट मात्रै हेर्छन् । तर, दाँत नदुखे पनि दाँत बाङ्गोटिङो हुनु, दाँत नहुनु, बोली राम्रोसँग नआउनु, ओठ तथा तालुमा चिरा पार्नु, दाँतमा दाग हुनु, स्वास गनाउनु लगायत अन्य थुप्रै दाँत सम्बन्धी समस्या छन् भने ऊ खुलेर हाँस्न पनि नसक्ने र सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा समेत आत्मविश्वासको कमि हुने कुरा धेरै अध्ययनले देखाएको छ । त्यसैले दाँत र मुखमा दुखाइ हुने मात्र समस्या नभई दाँत सम्बन्धी अन्य समस्याले पनि मानिसको जीवनशैलिलाई धेरै हदसम्म असर गरेको हुन्छ ।

विश्वभर नै अहिले मुख र दाँत सम्बन्धीको रोगको बढ्दो चापले यसको उपचार र रोकथामका निम्ति प्रत्येक तहमा छुट्टाछुट्टै कार्यको माग गर्दछ । हरेक व्यक्तिले आफू स्वास्थ रहन, आफ्नो परिवारलाई स्वास्थ राख्न र समूदायस्तरमा सबैलाई स्वास्थ जीवनशैली प्रदान गर्न व्यक्तिगत, सामूदायिक र परिवारस्तरमा लक्षित विविध कार्यक्रम आवश्यक छ्न् ।

नेपालमा हिमाल र पहाडमा ८३ प्रतिशत भुभाग रहेको छ भने तराइमा १७ प्रतिशत रहेको छ। धेरै जिल्लामा सदरमुकाममा मात्रै यातायातको सुविधा रहेको छ। दन्त उपचारमा एकपटक भन्दा बढी फ्लोअप गर्नुपर्ने हुन्छ। तसर्थ यातायात, आर्थीक अवस्था लगाएतका कारणले ग्रामीण भेगका नागरिकलाई दन्त उपचार सेवा जटिल बन्न पुगेको छ।

त्यसमा पनि सरकारी अस्पतालमा पालो नपाएर प्राईभेटमा जानुपर्ने बाध्यता रहेको छ। त्यसैगरी प्रदेश र जिल्ला अस्पतालमा मात्र दन्त चिकित्सको दरबन्दी रहनुले पनि दन्त सेवामा नागरिकको पहुँच पुग्न सकेको छैन।

रोकथामका लागि पुर्वतयारी, जनचेतना, जनस्वास्थ्य कार्यालयबाट नियमित निगरानी नहुनु,स्वास्थ्यका मापदण्ड नपुर्‍याई अस्पताल तथा क्लिनिकहरु सञ्चालन हुँदा नागरिकमा विश्वास नबढ्नु लगाएतका कारण दन्त स्वास्थ्यमा अपेक्षित रुपमा प्रगति हुन सकेको छैन।

सरकारी अस्पतालमा दन्त चिकित्सकको दरबन्दी कम हुनु, भएका पनि शहर र सदरमुकाममा मात्रै केन्द्रित हुनाले ग्रामीण भेगका नागरिकले दक्ष चिकित्सकबाट दन्त सेवा पाउन सकेका छैनन्। गुणस्तरिय सेवा नपपाएपछि अविश्वास बढ्दै जाने र भएका सबै दाँत निकालेर कृतिम दाँत राख्नुपर्छ भन्ने धारणाको विकास हुँदै गइरहेको छ।

स्वास्थ्य क्षेत्रका कार्यक्रममा दन्त स्वास्थ्यलाई पुर्णरुपमा समेट्न नसक्नु पनि अर्को समस्याको विषय बनेको छ। प्रिभेन्टिभ एजुकेसनमा ध्यान दिन नसक्दा समस्या जटिल बन्दै जाने र उपचार खर्च पनि बढ्दै जाने समस्या रहेको छ।

 

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech