पदको लडाइँले भद्रगोल औषधि व्यवस्था विभाग

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः गत २७ पुसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखको जिम्मेवारीमा सरुवा गर्नुभयो । तर, दुई महिना बितिसक्दा पनि ढकाल प्रयोगशालामा हाजिर हुनुभएको छैन् ।

ढकाललाई सरुवा गरेर मन्त्री खतिवडाले विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिनुर्भको थियो । विभागको नेतृत्व आफूभन्दा जुनियरलाई दिएको भन्दै ढकालले विभाग मातहत रहने प्रयोगशालाको जिम्मेवारी सम्हाल्न मान्नुभएको छैन् ।

औषधि व्यवस्था विभाग औषधि क्षेत्रको नियामक निकाय हो । यो विभागको प्रमुख काम औषधिहरुको गुणस्तर, नियमन र अनुगमन हो । तर केही वर्षयता निरन्तर चल्दै आएको पदको हानथापले विभागले राम्रो काम गर्न सकेको छैन ।

राजनीतिक पहुँचको आधारमा वा सरकार परिवर्तन भएपिच्छे महानिर्देशक परिवर्तन हुँदा नीतिगत र प्रशासनिक काम हुन नसकेको विभागकै कर्मचारीहरु स्वीकार्छन् । ‘नियमित रुपमा हुने काम त थोर–धेर भएका होलान् ।

तर, छोटो समयमा नेतृत्व परिवर्तन हुँदा दीर्घकालीन रुपमा गर्नुपर्ने काम तथा नीतिगत कामलाई प्रभाव पारिरहेको देखिन्छ’, नाम खुलाउन नचाहने एक कर्मचारीले भने ।

सरकारले विभागमा ११ औं तहको दुईवटा दरबन्दी तोकेको छ । एक जना विभागको महानिर्देशक र अर्को राष्ट्रिय प्रयोगशाला केन्द्रको प्रमुख रहने व्यवस्था छ । ढकाल पाँच बर्षअघि र भट्टराई करिब दुई बर्षअघि ११औं तहमा बढुवा हुनुभएको थियो ।

पछिल्लो सरुवामा उहाँहरु दुईबीच टकराव प्रष्टसँग देखियो । एकले अर्कोलाई महानिर्देशक स्वीकार गर्नुभएन् । एक हप्ताभन्दा बढी समय उहाँहरुबीच कुर्सी तानातानको अवस्था सिर्जना भयो ।

ढकालले हालसम्म तीन कार्यकाल सम्हालिसक्नुभएको छ । भट्टराईले भने हाल दोस्रो पटक महानिर्देशकको जिम्मेवारी लिइरहनुभएको छ ।

 

  • ४ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech