छाला रोग विशेषज्ञ डा अनिशा उप्रेतीलाई प्रश्नः छाला जोगाएर कसरी होली खेल्ने ?

सावधान ! होलीमा गुणस्तरहिन रङ्गको प्रयोगले अनुहारमा पुर्‍याउँछ हानी


    • प्रियास्मृति ढकाल

  • ३ चैत्र २०७८, बिहीबार

नेपालगन्जः आज रङ्गहरूको पर्व होली पहाडी र हिमाली समुदायमा मनाइँदैछ भने शुक्रबार भोली तराई क्षेत्रमा मनाइन्छ । हरेक वर्ष होली पर्व सकिएपछि छालासम्बन्धी विभिन्न प्रकारका समस्या लिएर धेरै जना स्किन अस्पताल पुग्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।

होली खेल्दा सावधानी नअपनाउँदा अनुहारमा समस्या देखियो भन्दै अस्पताल पुग्नेको सङ्ख्या बढ्दै गएको छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्दा जुन पायो त्यही रङ्ग प्रयोग गर्दा अनुहारमा चाया, पातो आएका, छाला डढेका, डन्डिफोरहरू आएका तथा एलर्जी भएकाहरू अनुहार तथा छालामा थप समस्या देखिएर अस्पताल पुग्ने गर्छन् ।

जुन पायो त्यही रङ्गहरूको जथाभाबी होलीमा प्रयोग गर्दा छालाको एलर्जी, हुने आँखाको एलर्जी, चिलाउने, पोल्ने, छाला झन् सुख्खा हुने, धेरै बेरसम्म अनुहारमा रङ्ग दलिरहँदा छाला रगडिने, आँखाको दृष्टि गुम्नुका साथै छालासम्बन्धी विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।

नेपालगन्जस्थित नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरमा कार्यरत छाला रोग विशेषज्ञ डा अनिशा उप्रेतीले बजारमा पाइने रङ्ग तथा अबिरहरूमा स्वास्थ्यलाई नै हानी पुर्‍याउने रसायन मिसाइएको हुनेले सचेत हुन अति आवश्यक रहेको बताउनुहुन्छ ।

छाला जोगाएर कसरी होली खेल्ने ? उहाँको सरल सुझाव छ– छालाको समस्या भएकाले सकेसम्म होली नखेल्दानै वेश । तर खेल्नु परेपनि विशेष सावधानी अपनाउनु पर्छ । छालालाई रङ्गको प्रभावबाट बचाउन सनस्क्रिन अथवा मोइस्चराइजर लगाउनुपर्छ। यसो गर्नाले छालामा रसायनिक प्रभाव कम हु्न जान्छ ।

होली खेल्नु अघि के गर्ने ?

– होली खेल्नु अघि शरीरका प्रायः भाग छोपी गरी लुगा लगाएमा रसायनयुक्त अबिर तथा रङ्ग छालामा पर्नबाट जोगिन सकिन्छ ।

–सुक्खा छालाले रङ्गलाई सोस्ने भएकाले होली खेल्नुअघि लागि क्रिमहरू लगाउने ।

– होली खेल्नुअघि अनुहारमा मोइस्चराइजर लगाउने ।

–हातखुट्टामा भ्यास्लिन लगाए बेस हुन्छ।

–होली खेल्नु अघि शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ।

– आँखामा रङ्ग पर्न सक्छ त्यसैले चस्मा लगाउने ।

– रङ्गको एलर्जी भएकाले हुनेहरू शरीरमा टाँसिने अर्थात् कसिलो खालको लुगा नलगाउने ।

– अनुहार डन्डीफोर, पोतो भएकाहरूले सकेसम्म घाममा होली नखेल्ने ।

– होली खेल्दा सकेसम्म कपाल बाँधेर खेल्दा सिधै रङ्ग छालामा पुग्दैन ।

होली खेलेपछि के गर्ने ?

–नुहाउनु अघि अनुहारमा शरीरमा भएको अबिर तथा र रङ्गलाई राम्रो सँग पुछ्ने ।

–होली खेलेपछि कपालदेखि नङसम्म रङ्गलाई साबुन, स्याम्पुले पखाल्ने ।

–होली खेलिसकेपछि अनुहार तथा शरीरका अन्य भागका छालालाई पटक पटक साबुन लगाएर नमिच्ने ।

–रङ्गलाई पुछ्ने पखाल्ने गरेपछि सुख्खा भएको छालामा मोइस्चराइजरको प्रयोग गर्ने ।

(छाला रोग विशेषज्ञ डा अनिशा उप्रेती नेपालगन्जस्थित नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरमा कार्यरत हुनुहुन्छ)

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech