दैनिक तीन सेकेन्डको अभ्यासले मांसपेशी बलियो हुन्छ, कसरी गर्ने अभ्यास ?

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७८, मंगलवार

दैनिक तीन सेकेन्डको अभ्यासले मात्रै पनि मांसपेशी बलियो बन्ला ? एक अध्ययनले यो हासोउठ्दो छोटो अवधिको अभ्यासको असरमाथि अनुसन्धान गरेको छ ।अध्ययनमा सहभागी महिला तथा पुरुष दुवैलाई सकेको सबै बल प्रयोग गरेर तिनको बाइसेप खुम्चाउन लगाइएको थियो । एक महिनापछि तिनको बाइसेप १२ प्रतिशतसम्मले बलियो भएको पाइयो ।

अन्य अध्ययनहरूले पहिलेदेखि नै कठोर अभ्यासको फाइदाबारे प्रकाश पारिरहेकोमा यो अध्ययनले पनि त्यसैतर्फ संकेत गरेको छ । तर, अरू प्रायः सबैजसो अनुसन्धान लामो समय गरिने एरोबिक एक्सरसाइजमा केन्द्रित थिए । एकदम छोटो समयको अभ्यासको असरबारे भने एकदम थोरै मात्र अनुसन्धान भएका छन् । यो नयाँ अध्ययनले यस विधामा रहेको अभाव कम गर्ने प्रयास गरेको छ ।

फेब्रुअरीमा स्केन्डिनेभियन जर्नल अफ मेडिसिन एन्ड साइन्स इन स्पोर्टमा प्रकाशित अध्ययनको नेतृत्व मसातोसी नकामुराले गरेका थिए । उनको समूहले अध्ययनमा जापानको निगातास्थित निगाता युनिभर्सिटी अफ हेल्थ एन्ड वेलफेयरका ४९ स्वस्थ विद्यार्थीलाई सहभागी गराएको थियो ।

तीमध्ये ३९ विद्यार्थीलाई दैनिक तीन सेकेन्ड मांसपेशीको अभ्यास गराइएको थियो भने बाँकी १० जनाले त्यस्तो कुनै अभ्यास गराइएन । अध्ययनको सिलसिलामा अभ्यास गर्न नाम टिपाएका सहभागीलाई नियमित प्रयोगशालामा बोलाएर ‘आइसोकाइनेटिक डाइनामोमिटर’ नामक अगाडि राखिन्थ्यो, जसमा रहेको लामो उत्तोलकजस्तो भागलाई बल लगाएर तान्न, ठेल्न वा तलमाथि गर्न सकिन्छ । यसले अनुसन्धानदातालाई बन्द वातावरणमा सहभागीहरूको हलचल र प्रयासलाई अवलोकन गर्ने अवसर दियो ।

 कसरी गर्ने अभ्यास
सहभागीहरूले प्रत्येक दिन आफ्नो बाइसेपमा सकेसम्मको बल पर्ने गरी उत्तोलकमाथि सम्पूर्ण बल लगाउँथे । सहभागीहरूले आइसोकाइनेटिक डाइनामोमिटको उत्तोलकमा फरकफरक तरिकाले बल प्रयोग गरेका थिए । केही सहभागीले उत्तोलकको भारलाई बिस्तारै डमबेल उठाएजसरी उठाएका थिए । अर्का थरी सहभागीले माथि राखिएको अवस्थाका उत्तोलकलाई बल लगाएर तल झारेका थिए ।

तेस्रा समूहमा सहभागीले उत्तोलकको भारलाई बीचमा हावामा अड्याउने प्रयास गरेका थिए । प्रत्येक समूहका सहभागीले गर्ने अभ्यास समय भने समान अर्थात तीन सेकेन्ड मात्रै थियो । यति छोटो अभ्यास साताको पाँच दिन एक महिनासम्म निरन्तर गराइएको थियो । यस हिसाबमा अभ्यासमा भाग लिएका प्रत्येक सहभागीले अध्ययन अवधिमा जम्मा ६० सेकेन्ड अभ्यास गरे । यो अवधिमा सहभागीहरूलाई अन्य कुनै अभ्यास नगर्न भनिएको थियो ।

महिनाको अन्तिममा जब अनुसन्धानदाताले सहभागी सबैको हातको बल परीक्षण गरे तब नियमित तीन सेकेन्ड अभ्यास गर्नेहरूको बाइसेप बदलिएको पाइयो । भार उठाउने र हावामा अड्याएर राखेका सहभागीहरूको बाइसेप ६ देखि ७ प्रतिशत बलियो पाइयो भने माथिबाट भार तल तानेर झारेकाहरूको बाइसेप १२ प्रतिशतसम्मले बलियो बनेको पाइएको थियो ।

प्रगति थोरै भए पनि यसको संकेत भने महत्वपूर्ण रहेको अस्ट्रेलियास्थित एडिथ कोआन विश्वविद्यालयका खेल विज्ञानका प्राध्यापक केन नोसाकाले बताउनुभयो । नोसाका यस अध्ययनमा सहभागी एक अनुसन्धानदाता हुन् । ‘धेरै मानिस मांसपेशीमा बल पर्ने खालको अभ्यास गर्दैनन् । तिनको लागि यो अध्ययनको निष्कर्ष सुखद छ । किनकि प्रत्येक मांसपेशी तन्काइको सकारात्मक असर हुने रहेछ । यसलाई बढाउँदै लग्दा फाइदा बढ्दै जाने रहेछ ।’ डा नोसाकाले भन्नुभएको छ ।

 व्यस्त मानिसका लागि निकै उपयोगी 
तीन सेकेन्डको अभ्यास काम तथा पारिवारिक जिम्मेवारीका कारण जिम गएर अभ्यास गर्न नसक्नेहरूका लागि निकै उपयोगी हुन सक्छ । किनकि तिनले यसलाई घरमै जुनसुकै समय गर्न सकिन्छ । उपकरण पनि त्यस्तो धेरै पर्दैन, केही भारी डमबेल भए पुग्छ । ‘त्यसलाई दुवै हात प्रयोग गरेर उठाउनुस् र एक हातको साहारामा तीन सेकेन्डमा तल झार्नुस् । बस त्यत्ति हो ।’ डा नोकासीले भन्नुभयो । यो शैलीमा एक कमी पनि देखिएको छ । अध्ययनमा सहभागीहरूको मांसपेशी बलियो भएको भए पनि उनीहरूको मांसपेशी पिण्ड भने थपिएन । साथै अध्ययनमा अभ्यासले मानिसको बाइसेपमा पार्ने असरबारे मात्र हेरेको थियो । भार उठाउँदा खुट्टा र अन्य मांसपेशी पनि बलियो हुने नहुने बारेमा अध्ययनले ध्यान दिएको छैन । र एक्सरसाइस जुनसुकै समयमा गर्न सकिन्छ भन्ने हिसाबमा प्रस्तुत गरियो भने यो अन्य कुनै कामजस्तो गरेर पछिलाई सार्ने सम्भावना पनि हुन्छ ।

यी चासोलाई ध्यान दिएर डा नोसाकाले आफू र सहकर्मीले तीन सेकन्डको एक्सरसाइजलाई दिनमा विभिन्न समय दोहोर्‍याउँदा मांसपेशी पिण्ड बढ्ने नबढ्ने अध्ययन गर्ने योजना रहेको बताउनुभयो । साथै यही समूहले यो शैलीलाई खुट्टा र अन्य मांसपेशीलाई पनि ठीक हुने गरी कसरी प्रयोग गर्ने भनेर खोज्दै छ । साथै नोसाकाले तीन मिनेटको दैनिक अभ्यासलाई शारीरिक अभ्यासमा हरेक व्यक्तिले दिन सक्ने समयका रूपमा हेर्न सुझाए । ‘केही नगर्नुभन्दा एकपटक मांसपेशी तन्काउनु राम्रो हो,’ उहाँले भन्नुभयो ।
 ग्रेचेन रेनोल्ड,द न्युयोर्क टाइम्स

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech