परिवार नियोजन संघ बाँकेबाट एक महिनामा २३ हजार बढीले लिए सेवा

    • सुमित्रा सुवेदी

  • १८ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः नेपाल परिवार नियोजन संघ बाँकेबाट एक महिनाको अवधिमा २३ हजारबढीले सेवा लिएका छन् । सन् २०२२ को जनवरी महिनामा २० हजार ९ सय ४२ पुरुष र दुई हजार चार सय ३८ जना महिलाले सेवा लिएका हुन् ।

नेपाल परिवार नियोजन संघ बाँकेका निमित्त प्रमुख रश्मी श्रेष्ठका अनुसार यो अवधिमा पुरुषलाई ५४ हजार चारसय परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिएको छ ।

त्यस्तै दुई सय ८२ जना महिलाले परिवार नियोजनको अस्थायी साधन डिपो, पिल्स दुई हजार एक सय १४ जनाले र पाँच वर्षीय इम्पलान्ट २६ जनाले, १० वर्षीय अस्थायी साधन आइसिडी सेवा तीन जनाले लिएका छन् । संघबाट आकास्मिक गर्भनिरोध पिल्स सेवा पाँच जनाले लिएका छन् ।

पछिल्लो समय मधेशी तथा मुस्लिम समुदायले पनि संघबाट सेवा लिनेक्रम बढेको छ । लाज र परम्परागत गलत मान्यताका कारण यसअघि यो समुदायले परिवार नियोजनका स्थायी तथा अस्थायी साधनको सेवा लिन इन्कार गर्ने गरेको थियो ।

तर पछिल्लो समय जनचेतनाको विकाससँगै मधेशी तथा मुस्लिम समुदायका पुरुष तथा महिला दुवैले परिवार नियोजनका साधनको प्रयोगमा आफुहरुलाई अभ्यस्त गराउँदै लगेका छन् । संघले प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।

संघका निमित्त प्रमुख श्रेष्ठका अनुसार परिवार नियोजनका अस्थायी, स्थायी साधन, गर्भपतन, पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण, एचआइभी परीक्षण, बाझोपनको पहिचान, युवाहरुलाई यौन शिक्षालगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

 

  • १८ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech