बर्ड फ्लूको लक्षण र थप फैलन नदिन उपायहरु

    • स्वास्थ्य पेज

  • १९ माघ २०७८, बुधबार

नेपालगन्जः मोरङमा बर्ड फ्लू देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।

आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो । पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगी/व्यवसायीलाई आग्रह गरेको हो । विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार प्राप्त सूचनाका आधारमा नमूना सङ्कलन गरी बर्ड फ्लू पहिचान भए जुन ठाउँमा सङक्रमण देखिएको त्यहाँ तत्कालै पन्छी नस्ट गर्ने गरिन्छ ।

सङक्रमण नियन्त्रणका लागि रोगी मात्र नभएर सँगै रहेका पन्छीसमेत नस्ट गर्नुपर्ने भएकाले यसले आर्थिक रुपमा धेरै क्षति गर्ने उहाँको भनाई छ । पन्छी, पन्छीजन्य वस्तु अण्डा, दानामा हुन जाने क्षतिको सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । किसानले क्षतिका आधारमा ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था छ । बर्ड फ्लू कुखुरा, हाँस, परेवा तथा जङगली पन्छीमा मात्र नभएर मानिसलाइ समेत सर्ने भएकाले विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।

इन्फ्लूएन्जा भाइरसको कारण देखिने बर्ड फ्लू सङ्क्रामक रोग मानिन्छ । गएको आइतबार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्ड फ्लू पुष्टि भएपछि सरकारले उच्च सर्तकता तथा निगरानी बढाएको हो । रोग देखिएको मोरङको प्रभावित क्षेत्रमा निसङक्रमण तथा उच्च निगरानी गरेको पनि विभागका प्रवक्ता डा. ढकालले जानकारी दिनुभयो । अरु ठाउँमा सङक्रमण फैलन नदिन चनाखो रहेको पनि उहाँले बताउनुभयो । मोरङमा यो बेला कसरी सङक्रमण देखिएको भन्न नसकिएपनि जङगली तथा आगन्तुक चराबाट सङक्रमण देखिएको हुनसक्ने उहाँको भनाई छ ।

बर्ड फ्लूको लक्षण

फार्म वा घरमा पालिएका पन्छीले र्याल काढ्ने, टाउको सुन्निने, दिसा पातलो हुने जस्ता लक्षण देखिने र त्यस्ता रोगी पन्छी मरेमा ख्याल राख्न विज्ञको सुझाव छ । तर घरपालुवा पन्छी कुखुरा, हाँसमा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउन प्रयोगशालामा र्‍यापिड टेस्ट गरिन्छ । यो सुविधा विभिन्न क्षेत्रमा रहेका प्रयोगशालामा छ । टेस्ट गरेर नतिजा नआउँदासम्म र अरु बेलामा पनि मरेका पन्छीलाई नाङ्गो हातले नछुन, खोरमा जाँदा पञ्जा तथा मास्कको प्रयोग गर्न र सरसफाइमा ध्यान दिन डा. ढकालले आग्रह गर्नुभएको छ ।

थप फैलन नदिन उपायहरु

– घरपालुवा पन्छी हाँस, कुखुरालाई जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिने,
–फार्म परिसर सरसफाइ र निसङ्क्रमण गर्ने
– पन्छी तथा पन्छीजन्य बस्तुको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण गरी प्रमाण पत्र लिएर मात्र गर्ने÷गराउने
– कुनै पनि पन्छी फार्म वा अन्य क्षेत्रमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालय, विज्ञ केन्द्र वा पालिकामा जानकारी गराउने ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech