बाँकेमा चौमासिकमै ७२ जना नयाँ कुष्ठरोगी फेला, जानकी गाउँपालिका ‘हटस्पट’

    • प्रियास्मृति ढकाल

  • १६ माघ २०७८, आईतवार

नेपालगन्जः नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको सरकारले घोषणा गरेपनि बाँकेमा भने अस्वभाविकरुपमा नयाँ बिरामी देखिन थालेका छन् ।

नयाँ बिरामी देखिनेक्रम नरोकिएपछि बाँकेमा नियन्त्रण चुनौतिपूर्ण देखिएको छ ।  प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ ।

तर बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ प्रतिशतमा कुष्ठरोग फेला परेको छन् । चालू आर्थिक वर्षको चौमासिकमै यो संख्या थप बढेको छ । चौमासिकमा १ दशमलव ८३ प्रतिशत पुगेको छ ।

यसले बाँकेमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको स्पष्ट संकेत गरेको छ । अझैपनि समुदायस्तरमा मानिसहरु कुष्ठरोगलाई बोकेर बसिरहेको तथ्यालाई पनि उजागर गरिदिएको छ ।

गएको वर्षमात्रै बाँकेमा १२८ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए । चालू आर्थिक वर्षको चौमासिकमा मात्रै ७२ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीले जानकारी दिनुभयो । बाँकेका आठवटै पालिकामा कुष्ठरोगीका विरामी पहिचान भएका छन् ।

आर्थिक वर्ष ०७७-७८ मा जानकी गाउँपालिकामा ३२, नेपालगन्जमा २७, नरैनापुरमा २०, कोहलपुरमा १५, खजुरा र डुडुवामा १२–१२, बैजनाथमा ७ र राप्तीसोनारीमा ३ जना कुष्ठरोगी फेला परेका छन् ।

यस्तै चालू आर्थिक वर्षमा जानकीमा ४८, नेपालगन्जमा ६, कोहलपुर र बैजनाथमा ७–७, खजुरामा ३ र नरैनापुरमा १ जना फेला परेका छन् । खासगरी जानकी गाउँपालिकाका केहीवडा कुष्ठरोगको ‘हटस्पट’ नै बनेको छन् । गएको आर्थिक वर्षमा ३२ जना कृष्ठरोगी पहिचान भएको जानकीमा चालू आर्थिक वर्षको चौमासिकमै ४८ जना फेला परेपछि जानकी हटस्पट बनेको हो ।

फेला परेका कुष्टरोगीमध्ये ६ दशमलव २५ प्रतिशत बालबालिका छन् । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि बाँँकेमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्नगर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ ।

यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।

समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुने नेपालीको भनाइ छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन उहाँले आग्रह गर्नुभएको छ ।

कुष्ठरोग के हो र यो के कारणबाट हुन्छ ?
कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला, स्नायु (नसा) मा असर गर्दछ। कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन्। यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।

कुष्ठोग कसरी सर्छ ?
उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। तर, यो निकै कम सरुवा रोग हो। साधारणतया यो रोग सरेको १ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्न सक्छन्।

कुष्ठरोगको चिह्न र लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।
स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि।

कुष्ठरोग कति प्रकारका छन् ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
१० बढी किटाणु भएको
(एमबी) कुष्ठरोग
२० कम किटाणु भएको
(पीबी) कुष्ठरोग
यसको उपचार बहु औषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहु औषधिको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठरोगको उपचार के हो ?
माथि उल्लेख गरिएजस्ता कुनै पनि चिह्न तथा लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ। यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। धेरै किटानु भए २४ महिनासम्म औषधि खानु पर्ने हुन्छ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठरोगको उपचार नगरे के हुन्छ ?
कुष्ठरोगको किटाणुले छाला र खास गरेर हात, खुट्टा र अनुहारका सतहका स्नायुहरूमा असर गर्ने हुँदा समयमा उपचार नगरे मांसपेसी कमजोर हुने, औंला खुम्चने र पछि आपाङ्गता हुन सक्दछ। परिवार तथा समुदायमा रोग सर्न सक्दछ। ल कुष्ठरोगको ओषधि कहाँ पाइन्छ ? नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका साथै प्रेषण केन्द्रहरूमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ।

(स्वास्थ्य कायालय बाँकेका जनस्वास्थ्य निरीक्षक तथा कुष्ठरोग फोकलपर्सन मानव नेपालीसँग गरिएको कुराकानीको आधारमा)

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech