भेरी अस्पतालमा एकवर्षमा दुई हजार पाँच सय बढीले गर्भपतन गराए

    • स्वास्थ्य पेज

  • १३ माघ २०७८, बिहीबार

नेपालगन्जः छोराको चाहनामा विभेदपूर्ण लिंग छनोट गर्नेको संख्या पछिल्लो समय बाँकेमा बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिंग परीक्षण गराउने गरेका छन् ।

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भ्रुणको लिंग पहिचान गरिदिने र गैरकानुनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गइरहेको पाइएको छ ।

त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गैरकानुनी रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको अधिकारकर्मीहरुको भनाइ छ । भेरी अस्पताल बाँकेमा आर्थिक वर्ष ०७७-७८ मा दुई हजार पाँच सय बढीले गर्भपतन गराएका छन् ।

अस्पतालले दिएको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा भेरीमा मात्रै दुई हजार पाँच सय ८५ जनाले गर्भपतन सेवा लिएका हुन् । गएको वर्ष गर्भपतनपछि समस्या देखिंदा सेवा लिन आउनेको संख्या १ सय ८७ छ ।

यो संख्या जथाभावी औषधि सेवन गरेर गर्भपतनपछि समस्या भएर आउनेको संख्या भएको चिकित्सकहरु बताउँछन् । भेरी अस्पतालमा कार्यरत नर्स वसुन्धरा ज्ञवालीका अनुसार बाहिर लिंग पहिचान गराइ गर्भपतन गराउन आउनेको संख्या अस्पतालमा कमै भएको बताउनुभयो । तर पहिलो सन्तानमा विभेद नभए पनि पहिलो सन्तानपछि छोराको चाहना राख्ने दम्पती धेरै हुने गरेको उहाँको भनाइ छ । सहजै भिडियो एक्सरे गर्न सकिने सुविधाले पनि लिंग पहिचान र गर्भपतन बढेको हो ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech