बाँके प्रशासनमा कोरोना पस्यो, अत्यावश्यक बाहेकका सेवाहरु आजदेखि बन्द

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

नेपालगन्जः कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरु आजदेखि बन्द गरिएको छ ।

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जना कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड समेत भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्नु परेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्धा लगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता-नवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech