फैलिँदै संक्रमणः न राज्य संवेदनशील, न त जनता !

    • स्वास्थ्य पेज

  • ४ माघ २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहर भयावह रहृयो । अक्सिजन तथा अस्पतालमा बेड नपाएर धेरै नेपाली नागरिकले ज्यान गुमाउनुपर्‍यो । पहिलो र दोस्रो लहरमा बाँकेमा तीन सय ४५ जनाले ज्यान गुमाए । उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका चार सय ३७ जनाले ज्यान गुमाए ।

बाँकेका तीनवटा ल्याबमा परीक्षण गर्न आएकामध्ये आधाभन्दा बढीमा संक्रमण पाइएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार जिल्लामा अहिले १ सय ९० जना सक्रिय संक्रमित छन् । जसमा ८० प्रतिशत नेपालगन्ज उपमहानगरपालिकाभित्रका हुन् ।

अहिले ओमिक्रोन भेरियन्ट आएसँगै तेस्रो लहर शुरु भएको छ, तर सरकार र नागरिक अझै पनि संवेदनशील नभएको देखिन्छ । सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन् । जारी गरेका मापदण्डहरु कार्यान्वयनमा ल्याउन सकेको छैन् । नागरिकहरुमा पनि हेलचेक्र्याइ अचाक्ली देखिएको छ । पहिलो र दोस्रो लहरको पीडा उनीहरुले विर्सिसकेका छन् ।

नेपालमा गएको वैशाख–जेठमा दोस्रो लहर पिकमा पुग्यो । त्यसपश्चात संक्रमण क्रमशः घटेपछि न सरकारले ध्यान दियो, न आम नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरे ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी अहिले पनि महामारी नियन्त्रणका लागि सरकारले गर्न सक्ने कामहरू थुप्रै भएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘तर सरकार गम्भीर देखिएको छैन । ‘व्यवस्थापकीय र राजनीतिक संयन्त्र असफल जस्तो देखिएको छ ।’

ओमिक्रोनमा पहिला संक्रमण भइसकेको मानिसलाई पुनः संक्रमण गर्ने क्षमता डेल्टाको भन्दा तीनदेखि पाँच गुणा बढी देखिएको उहाँको भनाइ छ । खोप लगाएका मानिसलाई पुनः संक्रमण गर्ने सम्भावना पनि बढी देखिएको छ । तर खोप लगाएका भन्दा नलगाएका मानिसहरु बढी सिकिस्त छन् ।

भेरी अस्पतालका चिकित्सक डा विपिन आचार्य विगत दुई हप्ता यता अस्पतालमा भर्ना हुने दर बढ्दै गएको बताउनुहुन्छ । संक्रमितमध्ये खोप लगाएका भन्दा नलगाएकाहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘ओमिक्रोनले खोप लगाएका धेरैलाई संक्रमण त गर्ला, तर गम्भीर हुने क्षमताको सम्भावना कम हुन्छ । हामीकहाँ ओमिक्रोनको पहिलो फेज बल्ल शुरू हुँदैछ । अबको दुई तीन सातामा एकदमै उच्चमा जान सक्छ । यो बीचमा धेरै संक्रमितलाई आईसीयू तथा भेन्टिलेटर मार्फत उपचार चाहिने सम्भावना हुन्छ ।’

ओमिक्रोन समुदायस्तरमा फैलिसकेको छ । अब कन्ट्रयाक ट्रेसिङ लगायतका काम गरेर खासै उपलब्धि हासिल हुँदैन । कन्ट्रयाक टे्रसिङ, क्वारेन्टाइन लगायत काममा सरकार अहिलेसम्म सफल भएको देखिएको छैन । महामारी नियन्त्रणको पहिलो काम नै परीक्षण हो । संक्रमित मानिसको पहिचान गर्ने वित्तिकै सम्पर्कमा आएकाहरू आइसोलेट हुन्छन्, अरूलाई सार्ने सम्भावना कम हुन्छ ।

व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि पनि परीक्षण आवश्यक छ । संक्रमण पुष्टि भएको थाहा पाएपछि कडा लक्षण देखिन थालेपछि अस्पताल जान्छन् । धेरै गम्भीर हुनुभन्दा अगाडि अस्पताल पुगेको अवस्थामा उपयुक्त औषधि शुरु गर्दा आईसीयू, भेन्टिलेटर नचाहिने सम्भावना पनि कम हुनसक्छ ।

त्यसैले सरकारले परीक्षणलाई सहज र सुलभ बनाउनुपर्छ । लक्षण भएकाहरूलाई सरकारी अस्पताल तथा प्रयोगशालाहरूमा निःशुल्क परीक्षण गर्नुपर्छ । निजी प्रयोगशालाहरूलाई परीक्षण शुल्क दुई हजारबाट कम गर्न सरकारले दबाव दिनुपर्छ ।

आम नागरिकले पनि खोप लगाउनेतर्फ ध्यान दिनु पर्ने तत्कालको अवस्था छ । सरकारले खोपको व्यवस्था गरेको छ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे भन्नुहुन्छ–‘सरकारले उपलब्ध गराएको खोप त लगाऔं ।’

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech