बालबालिकामा तीब्ररुपमा फैलिँदै, १५ महिने शिशुमा पनि संक्रमण

    • स्वास्थ्य पेज

  • ४ माघ २०७८, मंगलवार

नेपालगन्जः कैलालीको धनगढी–५ तारानागरमा रुघाखोकी लाग्ने, ज्वरो आउने, वाकवाकी, टाउको र जीउ दुख्ने लक्षणका बिरामी देखिएका छन् । उनीहरू १५–२० वर्ष उमेर समूहका छन् । अधिकांश बिरामी जचाउन गएका छैनन् ।

अभिभावकहरूले पनि वास्ता गरेका छैनन् । ‘मेरो नानी र छिमेकीका दुई बच्चाहरू तीन दिनदेखि ज्वरो आएर थन्किएका छन्,’ एक स्थानीयले भनिन्, ‘सञ्चो भइहाल्ला भनेर जचाउन पठाएकी छैन ।’

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायले बालबालिका धेरै संख्यामा बिरामी परेको अनौपचारिक खबर आउने गरेको बताउनुभयो। सुदूरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण दर उच्च छ ।

सेती प्रादेशिक अस्पतालमा सोमबार १५६ जनाको स्वाब परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका कन्सल्टेन्ट फिजिसियन डा नीराजनदत्त शर्मा पौडेलले अस्पतालमा उपचारका लागि आउनेमा १५ देखि ४५ वर्ष उमेर समूहका अत्यधिक रहेको बताउनुभयो ।

घरघरमा बालबालिकाहरू बिरामी पर्ने क्रम बढिरहे पनि कैलालीका बालबालिकाले अझै खोप पाउन सकेका छैनन् ।

कैलाली र डडेलधुराका बालबालिकालाई फाइजर खोप लगाइने भनिएको थियो । खोप नआएकाले उनीहरूलाई अहिलेसम्म खोप प्रदान गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताउनुभयो । ।

बैतडीमा पनि बालबालिका बिरामी हुने क्रम बढेको छ । दैनिक २० देखि २५ जनासम्म रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या लिएर बालबालिका आउने गरेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

अस्पतालका डा वसन्तराज जोशीका अनुसार प्रायः सबै बालबालबालिका निमोनियाबाट थला परेका छन् ।

१५ महिने शिशुमा संक्रमण

१५ महिने शिशुमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका सबै सदस्यमा संक्रमण देखिएपछि उनको समेत परीक्षण गरिएको हो ।

शिशुमा सामान्य ज्वरो र रुघा देखिएको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । ‘परीक्षण गराउन नआएका मात्रै हुन्, बालबालिकामा कोरोनासँग मिल्दो लक्षण ज्वरो, रुघा र खोकी देखिन्छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा गोविन्द रोकायाले भन्नुभएको छ ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech