बाँकेमा संक्रमणदर दोब्बरले वृद्धि, संक्रमित अधिकांश नेपालगन्ज बजार क्षेत्रकै

    • स्वास्थ्य पेज

  • १ माघ २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: दोस्रो लहरको कोरोना भाइरस महामारी सकिएपछि बाँकेमा शून्यमा झरेको संक्रमितको संख्या अहिले फेरि बढेको छ ।पछिल्ला दिनमा संक्रमण पुष्टि भएका अधिकांश नेपालगन्जका छ्न ।

शुक्रबारमात्रै भारतबाट आउनेहरुसहित गरी ६० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका १ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको बाँके जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो।

त्यस्तै भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा १ सय ३ जनाको स्वाब परीक्षण गर्दा ५३ जनामा संक्रमित पुष्टी भएको उहाँले बताउनु भयो ।

संक्रमितमध्ये ३९ जना बाँके र अरु बाहिर जिल्लाका छन् । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ६ सय ४८ पुगेको छ ।

शुक्रबारमात्रै भारतबाट आउनेहरुसहित गरी ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो भने  बिहीबार बाँकेमा एक जना स्वास्थ्यकर्मी सहित ८५ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भइरहेको छ ।

पछिल्लो संक्रमणको अवस्था हेर्दा नाकामात्रै नभएर जिल्लामा पनि संक्रमण बढेको देखिन्छ’ कोभिड–१९ फोकल पर्सन वलीले भन्नुभयो- ‘एक साता यता संक्रमित ह्वात्तै  बढेको छ ।’

उहाँका अनुसार भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच्नेक्रममा स्वास्थ्यकर्मी स्वयं संक्रमित भइरहेका छन् । हालसम्म जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत आठ जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको फोकल पर्सन वलीले जानकारी दिनुभयो।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले अधिकांश भारतबाट फर्केकाहरुमा संक्रमण देखिएको बताउनु भयो । भारतमा ओमिक्रोन फैलिरहेका बेला त्यहाँबाट आउनेहरुमा देखिएको भेरियन्ट ओमिक्रोन हुन सक्ने उहाँको भनाइ छ ।

‘अहिले देखिएको भेरियन्ट डेल्टा भन्दा फरक छ’ उहाँले भन्नुभयो-   ‘ओम्रिकोन हो, होइन भनेर नमुना जाँचका लागि टेकु अस्पतलामा पठाएको छौं, तर लक्षण हेर्दा ओमिक्रोन नै हुन सक्ने हाम्रो अनुमान छ ।’

अहिले भारतबाट फर्केकाहरुमा देखिएको भेरियन्ट छिटो–छिटो फैलिरहेको उहाँले बताउनुभयो ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech