नेपालगन्जमा कोरोना संक्रमितलाई राख्ने होल्डिङ सेन्टर कहिले संचालनमा आउँछ ?

    • स्वास्थ्य पेज

  • २८ पुष २०७८, बुधबार

नेपालगन्जः नेपाल भारत सीमा नाकामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ ।

जमुनाह हेल्थ डेक्सका अनुसार नाकामा दैनिक ४० को हाराहारीमा मानिसहरुमा संक्रमण पुष्टि भइरहेको छ । तर सीमामा संक्रमितलाई अलग गर्ने कुनै संरचना छैनन् ।

सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाएपनि हाल संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा राखिएको छैन । संक्रमितहरुलाई उनीहरुको स्थायी ठेगाना रहेको स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ ।

जमुनाह नाकामा पछिल्लो एक सातायता नेपाल भित्रिएका मध्ये करिव तीन सय जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितलाई ठाउँ अभावको कारण नेपालगन्जको बालमन्दिर आइसोलेसनमा राखेर सम्बन्धित जिल्लामा पठाउने गरिएको छ ।

जबकि सरकारले गएको वैशाख पाँच गते नेपाल भारत सीमा नजिक एक–एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन् । अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ । नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणलाई तीब्र पारेको छ ।

नेपालगन्जको होल्डिङ सेन्टरको काम करिव ९५ प्रतिशत पूरा भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । नेपाली सेनाले यही पुष मसान्तभित्र उक्त होल्डिङ सेन्टर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

होल्डिङ सेन्टर नहुँदा अहिले नाकामा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नेपालगन्जको बाल मन्दिरमा रहेको आइसोलेसनमा राखेर सम्बन्धित जिल्लाका पालिकाहरुमा पठाउने गरिएको छ । खत्रीका अनुसार होल्डिङ सेन्टर भए नाकामा संक्रमण पुष्टि भएकालाई त्यही राखिने छ ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech