सीमाक्षेत्रमा घर फर्किनेको लर्कोः हेल्थ डेस्क व्यवस्थित र प्रभावकारी नहुँदा जोखिम बढ्यो

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः रोजगारीका लागि भारत गएका नेपाली धमाधम घर फर्कन थालेका छन् । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै कामका लागि गएका नेपाली फर्कन थालेका हुन् ।

नेपाल–भारत सीमा क्षेत्रमा घर फर्कनेको लर्को छ । फर्कनेहरुमा भारतको हरियाणा, पञ्जाब, दिल्ली, मद्रासलगायत सहरमा काम गर्न गएकाहरुको सङ्ख्या धेरै छ ।

सरकारले सीमा नाकामा स्वास्थ्य डेस्क सञ्चालन गरेको भने पनि व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । नेपालतर्फ आउँनेको भिड बढे पनि स्वास्थ्य जाँच व्यवस्थित हुन नसक्दा जोखिम उत्तिकै छ ।

कोरोना सङ्क्रमण सुरु हुँदा भारतबाट नेपाल आउनेको सङ्ख्या ह्वातै बढेपछि सङ्क्रमणले महामारीको रुप लिएको थियो, अहिले पनि त्यस्तै जोखिम बढेको महोत्तरी सम्सीका मोहम्मद इम्तियाजले बताउनुभयो ।

घर फर्कनेलाई रोक्नेभन्दा पनि सरकारले व्यवस्थित रुपमा स्वास्थ्य जाँच तथा सङ्क्रमण देखिएकाहरुको आवश्यक व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ ।

नेपाल प्रवेश गर्नेलाई भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो ।

खुला सीमाका कारण दोहोरो आवतजावत हुने भएकाले यसलाई व्यवस्थित गर्न पालिकालाई आग्रह गरेको प्रजिअ दाहालको भनाइ छ ।

मोरङको रानी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकामा हेल्थ डेस्क राखिए पनि स्वास्थ्य परीक्षण छलेर वैकल्पिक बाटो भएर भित्रिने गर्दा पनि जोखिम थप बढेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले धेरै मानिसको आउजाउ र चहलपहल हुने रंगेली नाकामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको बताउनुभयो ।

त्यस्तै कपिलवस्तुको कृष्णनगर नाकामा भारतको दिल्ली, मुम्बई, पन्जाब, हरियाणा, महाराष्ट्र र हिमाचल प्रदेशबाट घर फर्किने बढेका छन् ।

नेपालगन्जको जमुनाह, कञ्चनपुरको गड्डाचौकी नाकामा पनि घर फर्किनेको घुइँचो छ । गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण भए पनि अरु नाका ब्रह्मदेव, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वासलगायतका नाकामा जाँच नहुँदा जोखिम बढेको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech