जुम्लाको च्यारेचौरलाई ‘मेडिकल हब’ बनाउने तयारी

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

जुम्लाः जुम्लाको च्यारेचौरलाई ‘मेडिकल हब’ बनाउने योजनासहित भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको मंसिर २६ गते एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुको उद्घाटन गरेपछि जुम्लाको च्यारे चौरलाई मेडिकल हबको रुपमा विस्तार गर्ने तयारी गरिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट-६ किलोमिटर टाढा च्यारे चौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जनबन्दा बढी भौतिक संरचना निर्माण गर्ने तयारी गरेको छ ।

उपकुलपति डाक्टर मंगल रावलले प्रतिष्ठानले एमबीबीएस पढाउन सुरु गरेपछि मेडिकल हबको रुपमा चिनाउन २३ वटा भवन निर्माण गर्ने योजना अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालीन योजना अनुसार मेडिकल हबको रुपमा विस्तार गरिनेछ ।

चन्दननाथ नगरपालिका-३ का स्थानीयको सहयोगमा प्रदान गरिएको निस्शुल्क जग्गामा एउटा भवनको निर्माणको काम सुरु भइसकेको छ । रसुवा कम्पनीले भवन निर्माणको कामको सुरुवात गरेको हो।

रजिस्ट्रार नृपेन्द्र महतले च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीन सय रोपनी दर्ता भइसकेको बताउनुभयो । च्यारेमा शैक्षिक भवन बनाउने योजना नेपाल सरकारका समक्ष पेस गरिसकिएको छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शय्याको अस्पतालमा अहिले एमबीबीएस लगायतका कक्षाहरु सञ्चालन भइरहेका छन् । बर्सेनि बिरामी सङ्ख्या बढ्दै जाने र संरचना साँघुरो हुँदै गएकाले एमबीबीएससहितका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीन वटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ ।

प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापनापछि स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु सञ्चालन भइरहेका छन्।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech