अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो ।

बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो ।

प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ ।

‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।

अपरेशन गर्नुअघि बेनेटले भन्नुभएको थियो–‘यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो । उाँले भन्नुभएको छ–‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो ।’

यदि बेनेटको यो अपरेशन नगरेको भए उहाँको मृत्यु निश्चित थियो । त्यसैले युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्नका लागि विशेष छुट दिएको थियो ।

यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो ।

प्रत्यारोपण सफल भएपछि युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले सर्जन बार्टले पी ग्रिफिथलाई उद्धृत गर्दै भनेको छ– यो अपरेशन विश्वमा अंगको संकट समाधानमा एक कदम नजिक ल्याएको छ ।

अमेरिकामा हरेक दिन १७ जना मानिसको प्रत्यारोपणका लागि पर्खिंदापर्खिंदै ज्यान जाने गरेको छ । एक लाखभन्दा बढी मानिसहरु प्रत्यारोपणको पालो कुरिरहेका छन् ।

यस्तो अवस्थामा जनावरको अंग मानिसमा प्रत्यारोपण (जेनो ट्रान्सप्लान्टेसन) को सम्भावनाबारे धेरै अगाडिदेखि नै अनुसन्धान भइरहेको थियो ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech