सुदूरपश्चिममा फेरि फैलियो कोरोनाः दैनिक १०० बढीमा संक्रमण

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

धनगढीः सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको छ । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् ।

प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुलाघाट नाकामा १३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा शुुक्रबार पनि १०१ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमध्ये ९७ जना भारतका विभिन्न स्थानबाट फर्किएका व्यक्ति भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

बिहीबार पनि १०८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये १०७ जना भारतबाटै फर्किएका रहेका छन् ।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएकाबेला फर्किरहेका नेपाली संक्रमितको संख्यासमेत दैनिक वृद्धि हुुँदै जादा समुदाय स्तरमा फैलिने जोखिम बढेको छ ।

निर्माणाधीन होल्डिङ सेन्टर अधुरै, संक्रमितको व्यवस्थापनमा चुनौती

कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले कैलाली र कञ्चनपुरमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै रहेको पाइएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ र कञ्चनपुरको भीमदत्त नगरपालिका(१८ मा निर्माणाधीन अवस्थामा रहेका एकरएक हजार मानिस अटाउने क्षमताका होल्डिङ सेन्टरको काम अन्तिम चरणमा रहेको दाबी गरिएको छ ।

निर्माणको काम अन्तिम चरणमा भए पनि आवश्यक पर्ने अन्य समग्रीको व्यवस्थापनमा थप समय लाग्ने देखिएको छ ।

होल्डिङ सेन्टर सेन्टर निर्माणकै चरणमा रहेका बेला संक्रमित थपिन थालेपछि व्यवस्थापनमा चुनौती हुन थालेको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको १०० बेडको आइसोलेसन संक्रमितले भरिएको छ ।

आइसोलेसन भरिएपछि थप संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीका रुपमा देखिएको बताउँदै कार्कीले गेटा मेडिकल कलेज र प्रादेशिक आर्युवेदिक औषधालयको भवनमा व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाउनुभयो ।

अझै पत्ता लागेन भेरियन्ट

भारतमा ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेका बेला त्यहाँबाट फर्किने नेपालीहरू प्नि कोरोना भाइरस बोकेर आइरहेका छन् । तर यहाँ परीक्षणको व्यवस्था नहुँदा अहिले देखिएको संक्रमण ओमिक्रोन हो वा अन्य कुनै ? भन्ने कुरा छुट्याउन नसकिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

तर सामाजिक विकास मन्त्रालयले भने भारतबाट फर्किएर कोरोना संक्रमण देखिएका १६ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा उनीहरूमा ओमिक्रोन भेरिन्ट पुष्टि नभएको जनाएको छ ।

पुनः थप ११६ जना संक्रमितको नमूना परीक्षणका लागि पठाइएको बताउँदै मन्त्रालयका प्रवक्ता कार्कीले रिर्पोट प्राप्त भइनसकेको जानकारी दिनुभयो ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech