‘बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन विद्यालय बन्द गरौं’

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

नेपालगन्जः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ ।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै महरले देशमा फेरि कोरोना जोखिम बढेकाले आवश्यकता हेरेर बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउन १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको हो ।

महरले कोरोना संक्रमणको सम्भावित खतराबाट जोगाउन सरकारले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताउनु भयो । सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार तहको समन्वयमा कोरोना जोखिमको अवस्था हेरेर विद्यालय केही समय बन्द गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्नेमा जोड दिनु भयो ।​

साथै उहाँले बालबालिकामा कोरोनाविरूद्ध खोप छिटो लगाउनुपर्ने पनि बताउनु भयो ।

कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका छन् ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech