ओमिक्रोनको त्रासः डा रिसाल भन्छन्-‘नाकामा कडाई गरौं, मेला महोत्सव बन्द गरौं’

डा रिसाल परिस्थितिको आंकलन गरेर विद्यालय बन्द गर्नुपर्ने अवस्थातर्फ पनि सोच्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गराउनु भन्दा अनलाइन कक्षाको विकल्पतर्फ तत्काल ध्यान दिन सुझाव दिनुहुन्छ ।


    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जको जमुनाहा नाकामा भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिनेक्रम बढेको छ ।

जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार भारतका विभिन्न राज्यबाट आएका मानिसमा कोरोना संक्रमण देखिनेक्रम बढेको हो ।

एन्टिजिन विधिबाट कोरोना परीक्षण गराउँदा पछिल्लो पाँच दिनको अवधिमा ८४ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार सबैभन्दा धेरै ३७ जनामा कोभिड पुष्टि भएको छ । भारतमा ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि नेपालीहरु धमाधम घर फर्किरहेका छन् । प्रभावित क्षेत्रबाट फर्किरहेका नेपालीहरुमा भाइरस संक्रमण बढी देखिरहेको छ ।

शुक्रबार एकैदिन नेपालका विभिन्न ठाउँमा २४ जनामा ओमिक्रोन पुष्टि भएपछि नेपाल सरकार उस्तै परे स्मार्ट लकडाउनको तयारीमा छ ।

तर बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भने व्यापार मेला आयोजना गर्ने तयारीमा उद्योग बाणिज्य संघहरु लागिरहेका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघले यही माघ १५ गतेबाट व्यापार मेला लगाउने गरी तयारी थालिसकेको छ । यस्तै कोहलपुर उद्योग बाणिज्य संघ पनि व्यापार मेलाको तयारीमा छ ।

नेपालमा समेत समुदायस्तरमा ओमिक्रोन फैलिसकेको विज्ञहरुले अनुमान गरिरहेका ओमिक्रोनको प्रभावित भारतसँग सीमा जोडिएका जिल्लाहरुमा आयोजना गरिएका मेला महोत्सवले ओमिक्रोनलाई आगोमा घिउ थप्ने काम गर्ने चिकित्सकहरु बताउँछन् ।

कैयौ मानिसहरु अझैपनि खोपको पहुँच भन्दा बाहिर रहेको अवस्थामा मेला महोत्सवजस्ता कार्य गर्नु कोरोनालाई थप फैलाउनु जस्तै भएको भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसाल बताउँनुहुन्छ ।

उहाँका अनुसार भीडभाड हुने कुनै पनि कार्यहरु रोक्न सकिएन भने स्थिति नियन्त्रण बाहिर जाने उहाँको भनाइ छ ।

दोस्रो लहरमा मानिसहरु स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गरेकै कारण स्थिति नियन्त्रण बाहिर गएको स्मरण गर्दै उहाँले फेरि पनि हेलचेक्र्याइ गरे त्योभन्दा बढी चुनौतिपूर्ण हुने उहाँको आंकलन छ ।

उहाँले तत्काल यस्ता मेला महोत्सवमा स्थानीय प्रशासनले रोक लगाउनु पर्ने र सीमा नाकालाई कडाइ गर्नु पर्ने सुझाव दिनु हुन्छ ।

अन्य मुलुकहरुको तथ्यांक हेर्दा ओमिक्रोनका कारण बालबालिका सबैभन्दा बढी प्रभावित देखिएको छ । नेपालमा पनि ठूलो संख्यामा बालबालिकाहरुले खोप पाएका छैनन् । त्यसैले उनीहरु बढी जोखिममा छन् ।

डा रिसाल परिस्थितिको आंकलन गरेर विद्यालय बन्द गर्नुपर्ने अवस्थातर्फ पनि सोच्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गराउनु भन्दा अनलाइन कक्षाको विकल्पतर्फ तत्काल ध्यान दिन सुझाव दिनुहुन्छ ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech