ओमिक्रोन समुदायस्तरमा पुग्यो, यस्तै हो भने विद्यालयबाट आउट ब्रेक हुन्छ !

    • स्वास्थ्य पेज

  • २३ पुष २०७८, शुक्रबार

नेपालगन्जः थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरेको सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

झट्ट सुन्दा यसअघि ३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो, २४ थपिँदा २७ भयो भन्ने लाग्नसक्छ । तर स्वास्थ्य मन्त्रालयले शुक्रबार ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट संकेत गरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे बताउँनुहुन्छ । उहाँका अनुसार अब संक्रमण अझ बढ्नसक्छ ।

ओमिक्रोन भेरियन्टको विशेषता नै नेपालमा दोस्रो लहर ल्याएको डेल्टाभन्दा पनि तीव्र गतिमा फैलिने हो ।

तर ओमिक्रोन फैलावटले व्यापकता पाउँदै गर्दा परीक्षण अत्यन्तै कम भएको देखिन्छ। ‘ओमिक्रोन भेरियन्ट पुष्टि गर्नका लागि काठमाडौंमा अन्त विकल्प छैन् । रिपोर्ट आउन महिना दिन कुर्नु पर्छ । नतिजा आउँदासम्म एक व्यक्तिले धेरैलाई संक्रमण सारिसकेको हुन्छ ।

त्यसैले ओमिक्रोन फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँच बढाउनुपर्ने विज्ञहरु बताउँछन् ।

संक्रमितहरुको पहिचान गरेर आइसोलेटेड नगर्ने हो भने महामारी नियन्त्रण गर्न नसकिने संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी बताउनुहुन्छ ।

‘संक्रमणको ग्राफ बढिरहेको बेला परीक्षणको दायारा बढाउनुपर्छ । संक्रमित पहिचान गरेर आइसोलेसन गर्न सकियो भने संक्रमण सार्ने सम्भावना कम हुन्छ,’ डा बाँस्तोला भन्नुहुन्छ, ‘हाम्रो रणनीति क्वारेन्टाइन तथा संक्रमित पहिचान भएका आइसोलेसन र खोपको पहुँच बढाउनुपर्छ ।’

भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ । भारतीय नाकाबाट आउने धेरै व्यक्तिमा संक्रमण पुष्टि भइरहेकाले उनीहरुबाटै ओमिक्रोन समुदायमा पुगेको हुनसक्छ ।

‘पहिलाका संक्रमणको ‘आउट ब्रेक’ पनि सीमानाका प्रवेश बिन्दुबाटै भएको थियो,’ संक्रामक रोग विशेषज्ञ डा अधिकारीको भनाइ छ ‘अब ओमिक्रोन फैलन नदिका लागि नाकामा कडाइ तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ ।’

यससँगै खोप अभियानलाई पनि तीव्रता दिनुपर्ने डा पाण्डेको भनाइ छ । अध्ययन अनुसन्धानले खोप नपाएका मानिसलाई बढी संक्रमण गरेको देखाएको भन्दै उहाँले अभियानको रुपमा खोपलाई अघि बढाउनु पर्ने बताउनुहुन्छ ।

खोप नलगाएकाहरुमा बालबालिका पनि छन् र जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि उनीहरुलाई गाह्रो छ । ‘विद्यालयहरुमा जनस्वास्थ्यको मापदण्ड कायम हुन सकिरहेको छैन र सरकारले बालबालिकालाई खोप दिन पनि सकेको छैन । यस्तै हो भने विद्यालयबाट आउट ब्रेक हुन्छ ।

 

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech