भेरी अस्पतालमा उपचार गर्न आएकामध्ये खोप नलगाएका संक्रमित गम्भीर

ओमिक्रोन सर्ने तरिका पनि उस्तै भएकाले मास्क लगाउने, सामाजिक दूरीको पालना गर्ने, सरसफाईमा ध्यान दिने, भीडभाडमा नजानेलगायतका सजगता अपनाउनु पर्ने उहाँको सुझाव छ ।


    • प्रियास्मृति ढकाल

  • २३ पुष २०७८, शुक्रबार

तस्वीरः फाइल

नेपालगन्जः भेरी अस्पतालमा पछिल्लो समय उपचारका लागि आएकामध्ये कोरोनाविरुद्धको खोप  नलगाएका संक्रमितको स्वास्थ्य गम्भीर हुने गरेको पाइएको छ ।

खोपको एक मात्रा मात्र लगाएका कतिपय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

खोपका दुवै मात्रा पूरा गरेका व्यक्तिमा संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य हुने गरेको छ । भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले पूरा खोप लिएका व्यक्तिलाई कोरोनाको संक्रमण देखिए पनि अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

‘कोभिड आइसोलेसन वार्डमा उपचाररत गम्भीर खालका अधिकांश विरामीले कि खोप नै लगाउनुभएको छैन उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘लगाएको भएपनि खोपको मात्रा पूरा गर्नु भएको छैन् ।’ पहिलो डोज खोप लगाएपनि दोस्रो डोज खोप नलगाएकालाई कोरोना भाइरसको संक्रमणले बढी च्यापेको पाइएको उहाँको भनाइ छ ।

बाँकेमा खोपको मात्रा पूरा नगर्नेको संख्या करिव २० प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य कार्यालयकै तथ्याङ्क छ । यो हिसावले हेर्दा बाँकेमा वीचमै खोप छाड्नेको संख्या धेरै छ । जिल्लामा कोरोनाको खोप लिने लक्षित उमेर समूहका ४ लाख ७० हजार छन ।

त्यसमध्ये ७० प्रतिशतले पहिलो डोज खोप पाएका छन् । ५० प्रतिशतले मात्रै दोस्रो डोजको खोप पाएका छन् । १ लाख १७ हजार अझै पनि पहिलो डोजको खोपबाट वञ्चित छन्  ।

उहाँले खोप नलगाएकालाई खोप लगाउन र खोप लगाएकालाई खोपको मात्रा पूरा गर्न आग्रह समेत गर्नुभएको छ । भारतसँग सीमा जोडिएका कारण बाँके कोरोनाको उच्च जोखिममा भएकाले सचेत हुनुपर्ने उहाँको सुझाव छ । भारतको नयाँदिल्लीमा ओमिक्रोनको गति दू्रतरुपमा फैलिरहेकाले सीमासँग जोडिएको बाँके जोखिमका हिसावले दिल्लीकै हाराहारीमा रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय भारतबाट फर्किरहेका मानिसहरुमा कोरोना भाइरस संक्रमण बढी देखिएको छ । नेपालगन्जको जमुनाह नाकामा रहेको हेल्थडेक्सले एन्टिजेन परीक्षण गर्दा संक्रमण दर बढेको देखिएको छ । प्रभावित क्षेत्रबाट फर्किरहेका मानिसहरुमा भाइरस संक्रमण देखिनुले खतराको घण्टी बजिसकेको चिकित्सकहरु बताउँछन् ।

खासगरी पहिलो र दोस्रो चरणमा जुन खालका पूर्वतयारी गरिएका थिए त्यसैलाई निरन्तरता दिन डा पाण्डेको सुझाव छ । ओमिक्रोन सर्ने तरिका पनि उस्तै भएकाले मास्क लगाउने, सामाजिक दूरीको पालना गर्ने, सरसफाईमा ध्यान दिने, भीडभाडमा नजानेलगायतका सजगता अपनाउनु पर्ने उहाँको सुझाव छ ।

तर ओमिक्रोनका कारण बालबालिकाहरु बढी प्रभावित भएका खवरहरु आइरहेका छन् । अन्य मुलुकहरुको तथ्याङ्क हेर्ने हो भने ओमिक्रोनबाट बालबालिका बढी प्रभावित भएको देखिन्छ । बालबालिकाहरु खोपको पहुँचभन्दा बाहिर रहेकाले पनि उनीहरु ओमिक्रोनको जोखिममा छन् ।

त्यसैले बालबालिकाहरुलाई लक्षित गरेर पूर्वतयारीका कार्यक्रमहरु बनाउनु पर्ने आवश्यकता देखिएको छ । अस्पतालमा साना बालबालिकालाई आवश्यक पर्ने भेन्टिलेटरदेखि क्रिटिकल केयरलाई प्राथमिकता दिएर अघि बढ्नु पर्ने आवश्यक छ ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech