भेरी अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा थापा आजदेखि सेवा निवृत्त

    • प्रियास्मृति ढकाल

  • २१ पुष २०७८, बुधबार

तस्विरः डा बद्री चापागाई

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा विनोद थापा सेवा निवृत्त हुनुभएको छ ।भेरी अस्पतालमा करिव २९ वर्ष हाडजोर्नी विभागको प्रमुखका रुपमा कार्यरत रहनुभएका डा थापा उमेर हदका कारण बुधवारदेखि सेवा निवृत्त हुनुभएको हो ।

डा थापा वि.स २०४९ सालदेखि भेरी अस्पतालमा कार्यरत रहँदै आउनुभएको थियो । उहाँले नै भेरी अस्पतालमा हाडजोर्नी विभाग स्थापना गर्नुभएको थियो । डा थापाले तत्कालिन मध्य र सुदूरपश्चिमका हजारौं विरामीलाई सेवा दिनुभएको छ ।

‘जिवनका महत्वपूर्ण उर्जाशील समय यसक्षेत्रका विरामीको सेवामा विताए सेवा निवृत्त भएपछि स्वास्थ्य पेजसँग टेलिफोनमा डा थापाले भन्नुभयो–‘सेवा दिन पाएकोमा म निकै खुसी छु ।’

भेरी अस्पतालको उचाइमाथि उकास्न डा थापाको महत्वपूर्ण योगदान रहेको सहपाठीहरु बताउँछन् । हालैमात्र सेवा निवृत्त हुनुभएका वरिष्ठ सर्जन डा श्याम सुन्दर यादवले तत्कालिन अवस्थामा डा थापा जस्तो दक्ष जनशक्ति यसक्षेत्रमै नभएको बताउनुभयो ।

‘२०५५ सालदेखि डा थापासँगै काम गर्ने अवसर पाए यादवले भन्नुभयो–‘डा थापाजस्तो मिलनसार विरामीप्रति उत्तरदायी सायदै चिकित्सक हुन्छन् उहाँको योगदान यसक्षेत्रका लागि मात्र होइन देशकै लागि उच्च छ ।’

पश्चिम नेपालका अधिकांश हाडजोर्नीका विरामीहरुले सम्झने नाम अझै पनि डा थापाको मात्रै हो । उहाँले अभावका बीच पनि थुप्रै विरामीहरुलाई अपाङ्गता हुनबाट जोगाउनुभएको छ ।

प्रविधिको अभावकै बीच उहाँले गुणस्तरीय र प्रभावकारी सेवा दिएकै कारण बिरामीहरुका लागि डा थापा भगवानकै रुपमा परिचित रहँदै आउनुभएको छ । सेवा निवृत्त डा थापालाई भेरी अस्पतालले बुधवार एक कार्यक्रमको आयोजनागरी विदाई गरेको छ ।

विदाई समारोहलाई भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, अस्पतालका सदस्यहरु, अस्पतालका मेसु डा वीरेन्द्रबहादुर चन्द, अस्पतालका विभागीय प्रमुखहरुलगायतको सहभागीता रहेको थियो ।

त्यसक्रममा बोल्दै डा थापाले आफुलाई यहाँसम्म पु¥याउन सम्पूर्ण अस्पताल परिवारको सहयोग रहेको भन्दै आभार प्रकट गर्नुभएको थियो । उहाँले विश्वास र माया गर्ने सम्पूर्ण विरामीप्रति पनि हार्दिकता व्यक्त गर्नुभएको छ ।

 

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech