सुदूरपश्चिममा ओमिक्रोनको त्रासः के छ तयारी ?

    • स्वास्थ्य पेज

  • २० पुष २०७८, मंगलवार

नेपालगन्जः अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास सर्वत्र छ। तर, सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निकायमा भने नयाँ भेरियन्टलाई लिएर गतिलो तयारी भएको छैन। कोरोनाको दोस्रो लहरको सकसलाई बिसर्दै जाँदा नयाँ भेरियन्टको सामना गर्न चुनौती हुने निश्चित छ।

पछिल्लो २४ घण्टामा छिमेकी मुलुक भारतमा एकैदिन ३३ हजार ओमिक्रोनका संक्रमित फेला परेको अवस्थामा भारतसँग दुईतिर सीमा जोडिएको सुदूरपश्चिमको तयारी भने शून्य बराबर छ। यसरी कोरोनाको संक्रमण दरमा भएको वृद्धिले तेस्रो लहरको संकेत गरिरहेको छ। सम्भावित तेस्रो लहरको महामारीसँग सामना गर्न प्रदेश तथा स्थानीय प्रशासनसँग समेत गतिलो योजना छैन।

मास्कको प्रयोग, भिडभाड र स्वास्थ्य सतर्कता अपनाउन सकिएको खण्डमा नयाँ भेरियन्टबाट बच्न सकिने जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता हिरालाल चौधरीले बताउनुभयो।

सम्भावित जोखिम न्यूनिकरणका लागि यतिबेला सिंगो प्रदेश सरकार नै सक्रिय हुनुपर्ने हो। तर भारतमा दिनप्रतिदिन ओमिक्रोनका संक्रमितको संख्या बढ्दै जाँदा पनि सीमा नाकामा कुनै कडाई गरिएको छैन। नाका व्यवस्थित गर्नेदेखि होल्डिङ सेन्टर चालु राख्ने अवस्थामा समेत प्रदेश सरकार चुक्दै गएको छ।

नीति निर्माताबाटै अनावश्यक भिडभाड हुने, मास्क लगाउने क्रम घट्दै जानु, माथिल्लो निकायबाट सम्भावित जोखिम न्यूनिकरणका लागि कुनै निर्देशन नहुनु लगायतका कारणले जुनसुकै बेला पनि ओमिक्रोन भयाभह रुपमा फैलनसक्ने स्वास्थ्यकर्मी बताउँछन्। यसअघि महामारीका २ लहर पनि यस्तै लापरवाहीका कारण नियन्त्रणबाहिर गएको थियो।

तर प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने संघीय सरकारको निर्देशनविना सीमा कडाइ गर्ने अधिकार प्रदेशलाई नभएकाले यसका लागि छलफल भइरहेको बताएका छन्।

‘कैलाली र कञ्चनपुरमा ४ सय बेड क्षमताका होल्डिङ सेन्टर तयार अवस्थामा रहेकाले सम्भावित जोखिमको विषयमा मसिनो गरेर सीमा नाकामा निगरानी बढाउने विषयमा सचेत छौँ’ उनले भने। सामाजिक विकासमन्त्री खड्काले जनशक्ति र सेती, महाकाली र टीकापुरमा बेड थप्नुका साथै आवश्यक उपकरणको समेत व्यवस्था गरिसकेको बताउनुहुन्छ ।

प्रदेश सरकारसँग मातहतका अस्पताल, बेड र चिकित्सक कति आवश्यक भन्ने नै तयारी छैन। ओमिक्रोन विरुद्ध सीमा क्षेत्रमा अहिलेदेखि नै कडाई गर्नुपर्ने महसुस गरिएपनि प्रदेश सरकारको ध्यान जान सकेको छैन।

फागुनको पहिलो सातादेखि ओमिक्रोन दर नेपालमा पनि उच्च हुने र दैनिक रुपमा मानवीय क्षति हुनसक्ने स्वास्थ्यभिज्ञहरुले चेतावनी दिइरहेका बेला सरकारी तयारी भने शून्यकै अवस्थामा छ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech