कोरोना संक्रमितको उपचारमा तोकिएको शुल्कभन्दा बढी अशुल्ने निजी अस्पतालाई कारवाहीको चेतावनी

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

नेपालगन्जः सरकारले कोरोना भाइरस (कोभिड) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुलक लिने गरेको भन्ने गुनासोहरु प्राप्त भइरहेको उल्लेख गर्दै त्यस्तो गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।

कोभिड संक्रमणपछि भर्ना हुने बिरामीलाई विशिष्ट सुविधा प्रदान गर्ने वहानामा केही निजी अस्पतालले एउटा बिरामीबाट प्रतिदिन ३० हजार रुपैयाँसम्म अशुल गर्ने गरेको भन्दै विरोध भइरहेको छ। मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्न सचेत गराएको छ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ।’

कुनै अस्पतालले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खबर गर्न पनि सह–प्रवक्ता अधिकारीले जारी गरेको वक्तव्यमा आग्रह गरिएको छ।

यस प्रकारका गतिविधिमा मन्त्रालयले नियमित अनुगमन गरिरहेको तथा नियमानुसार कडाभन्दा कडा कारबाही समेत गरिने वक्तव्यमार्फत चेतावनी दिइएको छ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech