अक्सिजन अभाव भयो, अब संक्रमीत विरामी भर्ना लिन सक्दैनौं: नेपालगन्ज मेडिकल कलेज

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

तस्बिर: समिरमान श्रेष्ठ\स्वास्थ्य पेज

कोहलपुर: कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अब नयाँ संक्रमित बिरामीहरु भर्ना गर्न नसकिने जनाएको छ । अस्पतालले संक्रमित बिरामीहरुको उपचारका लागि आवश्यक हुने अक्सिजनको अभावका कारण अब नयाँ बिरामीहरु भर्ना गर्न नसकिने जनाएको हो ।

३०० बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालनको तयारी गरेको मेडिकल कलेजले एक्कासी अक्सिजनको अभावकै कारण यो सञ्चालन गर्न नसकिएको जनाएको हो । हाल अस्पतालले १३५ कोभिड बेडमा बिरामीहरुको उपचार गरिरहेको छ । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीहरुको उपचार गर्दै आएको थियो ।

सबैभन्दा भरपर्दौ लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट समेत नआईरहेकाले हाल उपचारमा रहनुभएका बाहेकका बिरामीहरु भर्ना गर्न नसकिने अस्पतालले जनाएको हो । बुधबार अस्पतालका निर्देशक डा.सुरेश कुमार कनोडियाले एक विज्ञप्ती सार्वजनिक गर्दै कोरोना संक्रमित बिरामीको उपचारका लागि अस्पताल गम्भीर रहेको भन्दै सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क चाडै उपलब्ध गराए अस्पतालले तुरुन्त ३०० बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने जानकारी दिनुभएको छ ।

यो समस्याका बारेमा मन्त्रालयललाई समेत अस्पतालले जानकारी गराईसकेको विज्ञप्तीमा उल्लेख छ । अस्पतालका अनुसार अहिले बिरामीको चाप बढी भएकाले हरेक ५ दिनमा लिक्विड अक्सिजन ट्याङ्क अथवा दैनिक ८०० अक्सिजन सिलिन्डर आवश्यक पर्छ । अस्पतालले सरकारलाई समस्या समाधानका लागि सहयोग गरिदिन आग्रह समेत गरेको छ ।

अहिले बाँकेमा कोरोना संक्रमित बिरामीहरुको उपचार पालिकाहरुले बनाएका आइसोलेसन बाहेक नेपालगन्ज स्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा भईरहेको छ ।

हेर्नुहोस् अस्पतालले जारी गरेको विज्ञप्ती

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech