मेडिकल कलेज कोहलपुरमा एकहप्तामा तीन संक्रमित सुत्केरी, दुईजनाको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजना गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको छ । अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाका अनुसार भूमी–४ रुकुमकी ३२ वर्षीया महिलाको शल्यक्रियामार्फत बच्चा (छोरी) निकालिएको हो । यसअघि उहाँले दुई सन्तान जन्माइन सक्नुभएको छ ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ती महिला २० गते राती ९ बजेतिर अस्पताल भर्ना भएकी थिइन् । उनलाई कोभिडको लक्षण चिन्ह थिएन् । प्रसूति व्यथा समेत लागेको थिएन । तर बच्चा जन्मने समय भने एकहप्ता पार भइसकेको थियो । अवस्था जटिल हुन सक्ने आंकलनमा शल्यक्रियामार्फत बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग बिशेषज्ञ डा कविता सिन्हाले बताउनुभयो । उहाँका अनुसार बच्चाको तौल २ दशमलव ७ किलो छ ।

उनको मंगलवार दिउँसो ३ः१३ बजे शल्यक्रिया गरिएको थियो । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिन्हाले बताउनुभयो ।  शल्यक्रियामा डा सिन्हासहित प्रोफेरस डा मीता सिन्हा, डा गोमा रिमाल, डा शैलेन्द्र शाक्य, डा श्यामानन्द शाह, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्वि महरालगायतको टोली सहभागी थियो ।

एकहप्ताकै अन्तरमा मेडिकल कलेजमा तीन जना संक्रमित सुत्केरी भएका छन । सुर्खेत भेरीगंगा नगरपालिका ११ की २२ वर्षीया गर्भवतिको नर्मल डेलिभरी भएको थियो भने नेपालगन्ज उपमहानगरपालिका ६ की ३२ वर्षीया संक्रमितको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो । सुर्खेतको केश डिस्चार्ज भइसकेको छ ।

मेडिकल कलेजमा अहिले तीन जना संक्रमित सुत्केरी छन् । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा शल्यक्रियामार्फत सुत्केरी भएकी नेपालगन्जकै महिला पनि कोहलपुर सारिएको छ । ती महिलामा शल्यक्रियामार्फत बच्चा निकालिएपछि रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै गर्भपतनपछि रक्तश्राव नरोकिएकी महिला पनि अस्पताल भर्ना भएकी छिन् । उनी पनि कोभिड पोजेटिभ हुन् । अस्पतालका अनुसार, २४ हप्ताकी गर्भवति पनि संक्रमित छिन् । उनीपनि अस्पताल भर्ना भएकी छिन् ।

अस्पतालमा उपचाररत उनीहरु सबैको अवस्था सामान्य छ । गएको बर्ष अस्पतालमा चारजना संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech