रुकुमपश्चिमः जिल्ला अस्पताल रुकुममा ५० लिटर क्षमताका २९ वडा अक्सिजनका सिलिन्डर आइपुगेका छन् ।
यसले अक्सिजनका लागि भौतारिरहेका स्वास्थ्यकर्मी र बिरामीलाई राहत भएको छ । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले २९ वटा सिलिन्डर उपलब्ध गराएपछि जिल्ला अस्पतालले सबै सिलिन्डरमा अक्सिजन भरेर तयारी हालतमा राखेको छ ।
नेपालगन्जबाट सबै सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल पुर्याइएको अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताउनुभयो। सोमबार थपिएका २९ सिलिन्डरसहित जिल्ला अस्पतालमा अब ३९ सिलिन्डर भएका छन् ।
यसअघि जिल्ला अस्पतालमा ५ लिटरका ५ र ९ लिटरका ५ गरी १० सिलिन्डर थिए । अब अस्पतालमा रहेका सबै संक्रमितलाई एकैपटक अक्सिजन दिन सकिने फोकल पर्सन रावलले बताउनुभयो। अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम पनि भइरहेको छ ।अहिले अस्पतालको आइसोलेसनमा १० संक्रमित उपचाररत छन् ।