बाँकेमा कोरोनाको सुनामीः संक्रमितहरु हावा खान भन्दै बजार घुम्छन्

भाइरसको सुनामीले बाँकेलाई डुवाउन खोज्न लाग्दा समेत नागरिकहरु आत्मअनुशासित नहुँदा त्यस्ले ठूलो क्षतीको संकेत गरिरहेको छ ।


    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

नेपालगन्जः
दृष्य– १
नेपालगन्ज उपमहानगरपालिका–१३ सरस्वति मन्दिर नजिकै सोमवार बेलुका ७ बजेतिर एकजना संक्रमित खुलियाम हिडिरहेका थिए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसमान बसेका छन् । उनी संक्रमित भएको छिमेकीलाई थाहा छ । घरको छतबाट ति छिमेकीले भने भाई संक्रमित भएर यसरी लखरलखर किन हिडेको हो ? उनले सहज जवाफ दिए–‘कति घर भित्र थुन्निएर बस्नु ? यसो चिसो हावा खाउ भनेर । दाई मलाई खासै कोरोना छैन के रुघाखोकी र ज्वरो थियो अहिले ठिक भइहाल्या छ।’
दृष्य–२
नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राका ३३ वर्षीय पुरुषलाई भाइरस संक्रमण पुष्टि भयो । लक्षण चिन्हसहितका ती संक्रमित होमआइसोलेसनमै बसे । परिवारका अन्य सदस्यहरुलाई नफैलियोस् भनेर उनी छुट्टै कोठा लिएर बस्नु पर्ने हो । तर सँगै बसे । परिवारका अन्य सदस्यसँगै खानाखाने, सँगै सुत्ने–बस्ने गरेका कारण अरुलाई पनि रुघाखोकीसँगै ज्वरो आउन थाल्यो । अर्थात कोरोनाका लक्षण देखिए । तर उनीहरुले कोभिड जाँच गराएनन् बरु छरछिमेकमा निर्धक्क हिडडुल गरिरहे । संक्रमित पुरुष त घरमै बसे । तर परिवारका अन्य सदस्यहरु भने दैनिक उपभोग्य सामान किनमेलका लागि बजारैसम्म पुगे ।
दृष्य–३
कोरोनाको चेन ब्रेक गर्न स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गरेको छ । सुरक्षाकर्मीहरु निषेधाज्ञा कडाइका साथ पालना गराउन सडकमा तैनाथ छन् । चार दिन अघि एउटा बाइक रन्केर आयो । पुष्पलाल चोकमा प्रहरीले रोक्यो । निषेधाज्ञामा कहाँ बाइक कुदाएको ? प्रहरीको प्रश्नमा उनले भने–‘संक्रमित हुँ सर, औषधि लिन मेडिकल लिन जान लाछु ।’ प्रहरीले आफुलाई झुक्याएको झै लाग्यो । खै संक्रमित भएको रिपोर्ट देखाउ त ? –प्रहरीले भन्यो । खल्तीबाट मोवाइल निकाले । भेरी अस्पतालले पठाएको म्यासेज रिपोर्ट देखाए कोभिड पोजेटिभ । नजिकै झुम्मिएका प्रहरी तत्काल लाखापाखा लागे । स्यानिटाइजर लगाएर हात मिचिरहेका थिएँ, युवा वाइक स्टार्ट गरेर औषधि पसल तिर लागे ।

यी त प्रतिनिधिमुलक घटना हुन् । यी घटनाले नागरिकहरु कति जिम्मेवार छन भन्ने स्पष्ट पारेको छ । त्यसैमा वडातहका स्वास्थ्यकर्मीहरुको निगरानीमाथि समेत प्रश्न उठाइदिएको छ । उनीहरुले संक्रमितलाई निगरानी गर्न नसकेको पनि प्रष्ट भएको छ ।

होमआइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्यकर्मीहरुले हौसला दिने, स्वास्थ्य अवस्थाबारे जानकारी लिने गर्नु पर्ने हो । तर त्यो निकै कम छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वली संक्रमितको संख्या बढेसँगै होमआइसोलेसनमा बसेकाहरुको निगरानी गर्न स्वास्थ्यकर्मीलाई पनि गाह्रो परिरहेको दावी गर्नुहुन्छ ।

कोरोना भाइरस संक्रमणपछि होमआइसोलेसनमा बसेकाहरु खुलियाम हिडिरहेका छन् । जस्का कारण भाइरस संक्रमण समुदायस्तरमा व्यापकरुपमा फैलिरहेको छ । संक्रमितहरु गरैजिम्मेवार बन्दा आफुमात्र नभएर परिवार र समाजलाई नै ठूलो जोखिममा पारेका छन् । जस्का कारण भाइरस संक्रमणको चेन तोड्न गरिएको निषेधाज्ञा समेत बेकामे सावित भएको छ ।

भाइरसको सुनामीले बाँकेलाई डुवाउन खोज्न लाग्दा समेत नागरिकहरु आत्मअनुशासित नहुँदा त्यस्ले ठूलो क्षतीको संकेत गरिरहेको छ । सडकमा लखर लखर हिड्नेक्रम रोकिएको छैन् । सामाजिक दुरी र मास्कको प्रयोगमै सम्बद्धहरुलाई समय खर्चिनु परिरहेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech