क्रिटिकल अवस्थामा पुगेकी नेपालगन्जकी संक्रमित गर्भवतीको शल्यक्रियामार्फत बच्चा निकालियो

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

शल्यक्रिया अघि डा सिन्हालगायतको चिकित्सकको टीम

नेपालगन्जः नेपालगन्जकी कोरोना संक्रमित गर्भवतीले शल्यक्रियामार्फत बच्चा (छोरा) जन्माएकी छिन् । नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राकी ३२ वर्षीया ती महिलाको शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

प्रसूति व्यथाले च्यापेपछि उनी आइतवार राती ९ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । उनको सबै चेकजाँचपछि राती १२ः ३९ बजे बजे शल्यक्रिया गरेर बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा कविता सिन्हाले जानकारी दिनुभयो ।

‘उहाँको अवस्था क्रिटिकल थियो डा सिन्हाले स्वास्थ्य पेजलाई भन्नुभयो–‘अप्रेशन सफल भयो बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’ पहिलो बच्चा पनि शल्यक्रियामार्फत निकालिएको थियो । पहिलो बच्चा शल्यक्रिया गरेर निकालेको १५ महिना पनि पुगेको छैन्।

‘पहिलो र दोस्रो बच्चाको जनमान्तर कम हुँदा पाठेघर फुट्ने अवस्थामा पुगेको रहेछ उहाँले भन्नुभयो–‘थोरै ढिला गरेको भए फुट्न सक्थ्यो ।’ चिकित्सकिय भाषामा पाठेघर नफुटेको तर फुट्ने अवस्थालाई इपेन्डिङ रफ्चर भनिन्छ ।

बच्चाको तौल २ दशमलव ९ किलो छ । शल्यक्रियामा डा सिन्हा सहित प्रोफेसर डा मीना सिन्हा, डा गोमा रिमाल, शैलेन्द्र शाक्य, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्बी महरालगायत सहभागी हुनुहुन्थ्यो ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech