अक्सिजन अभावमा नेपालगन्ज मेडिकल कलेजले कोरोना डेडिकेटेड अस्पताल संचालन गर्न सकेन

एउटा विरामीलाई १० मिनेटमा एउटा अक्सिजन सिलिण्डर दिनु पर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो । ‘एकैपटक ५० जना विरामीलाई अक्सिजन दिनु पर्यो भने ५० वटा सिलिण्डर जोड्नु पर्छ । १०–१० मिनेटमा कसरी फेर्न सकिन्छ ? उहाँको प्रश्न थियो ।


    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

नेपालगन्जः बाँकेमा कोरोनाका विरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले कोरोनाका विरामीका लागि तयार पारेको तीन सय बेडको डेडिकेटेड अस्पताल संचालनमा ल्याउन सकेको छैन् ।

अस्पतालका सह निर्देशक डा नितेश कुमार कनोडियाका अनुसार, अस्पतालको सबै तयारी पूरा भएपनि अक्सिजन अभावका कारण डेडिकेटेड अस्पताल संचालनमा ल्याउन नसकिएको हो । स्थानीय अक्सिजन उत्पादन गर्ने उद्योगले मागअनुसारको उत्पादन गर्न नसक्नु, भारतबाट आयात हुने लिक्विड अक्सिजन टयाङ्कको आयात रोकिनु, सिलिण्डिरको अभाव हुनुलगायतका कारणले तयार रहेको डेडिकेटेड अस्पताल पनि संचालन गर्न नसकिएको उहाँको भनाइ छ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । लिक्विड अक्सिजन ट्याङ्क पनि छ । तर यस्ले पनि अक्सिजन अभाव टार्न मुस्किल छ।उहाँका  अनुसार कोहलपुर मेडिकल कलेजमा अहिले दैनिक दुई सय ५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । यस्तै नेपालगन्ज मेडिकल कलेजमा दैनिक दुई सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ । भारतमा अहिले कोरोनाको सुनामी छ । त्यहाँपनि अक्सिजन अभाव चर्किएको छ । जस्का कारण अक्सिजन आयात रोकिएको छ ।

मेडिकल कलेजमा हप्तामा एउटा लिक्विड टयाङ्क खपत हुने गरेको छ । उक्त टयाङ्कको क्षमता १२ हजारको हो । ‘भाइरस संक्रमित विरामीलाई भर्ना गरेरमात्र हुदैन उहाँले भन्नुभयो–‘उनीहरुलाई अक्सिजन दिनु पर्छ तर त्यसका लागि अक्सिजन चाहियो, सिलिण्डर चाहियो यी सबैको अभाव छ ।’

सयजना कोभिडका विरामीलाई अहिले दैनिक दुई सय ५० सिलिण्डर खपत भइरहेको बताउँदै उहाँले डेडिकेटेड अस्पतल संचालन गरे कम्तिमा पाँच सय सिलिण्डर आवश्यक पर्ने बताउनुभयो । एउटा विरामीलाई १० मिनेटमा एउटा अक्सिजन सिलिण्डर दिनु पर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो । ‘एकैपटक ५० जना विरामीलाई अक्सिजन दिनु पर्यो भने ५० वटा सिलिण्डर जोड्नु पर्छ । १०–१० मिनेटमा कसरी फेर्न सकिन्छ ? उहाँको प्रश्न थियो ।

तत्काल अर्को सिलिण्डर जोड्न नै टाइम लाग्छ । सिलिण्डर भर्नलाई पनि त समय चाहिन्छ ।’ बाँकेमा गनापुर र परस्पुरमा अक्सिजन उत्पादन गर्ने उद्योग छन् । यी उद्योगले भेरी अस्पतालमा दैनिक चार सय सिलिण्डर पठाउने गर्छन् । यस्तै बर्दिया, दाङ, सुर्खेत, धनगढीसम्मै अक्सिजन पठाउने गरेका यी उद्योगले मागअनुसारको आपूर्ति भने गर्न सकेका छैनन् ।

अस्पतालले अहिलेपनि कोभिडका लागि एक सय शैया छुट्याएको छ । विरामीहरु आउनेक्रम नरोकिएपछि थप बेड राखेर उपचार गरिरहेको छ । अस्पतालमा अहिले ६४ जना संक्रमित आईसीयूमा छन् । ७८ जना कोभिड वार्डमा छन् । अहिलेसम्म अस्पतालका एक सय ४२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेको अस्पतालले जनाएको छ ।

अक्सिजन अभावलगायतका प्राविधिक समस्याले कोरोना डेडिकेटेड अस्पताल संचालनमा समस्या आएको जानकारी अस्सपतालले जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालयलगायतलाई जानकारी समेत गराइसकेको उहाँले बताउनुभयो।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech