भेरीलाई जुम्लाको साथ, डा प्रविण गिरी नेतृत्वको ६ जनाको टीम भोलि आउँदै

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसतिहको टोली सहयोगको लागि भोलि नेपालगन्ज आउने भएको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगन्ज आउन लागेको प्रतिष्ठानका निमित्त निर्देशक डा राजिव शाहले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो । ‘क्रिटिकल केयरका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा प्रकाश थापाले गराउनुभएको थियो निमित्त निर्देशक डा शाहले भन्नुभयो–‘त्यही अनुसार क्रिटिकल विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टीम पठाउने निर्णय गरिएको हो ।’

ईन्चार्ज गिरीसहित डा. अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरीमा आउन लाग्नुभएको हो । ‘मौसमले साथ दिए र उडान भए भोलि नै नेपालगन्ज आउने छौं गिरीले स्वास्थ्य पेजसँग भन्नुभयो–‘करिव १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले विरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौं ।’

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा इमडी टीम बनाएको छ । उक्त टीमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टीम निश्चित समयका लागि परिचालन हुने गरेको छ ।

भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टीमले त्यसमा सहयोग र सहजिकरण गर्ने डा गिरीले बताउनुभयो ।

भेरी अस्पतालमा अहिलेसम्म ७३ बढी स्वास्थ्यकर्मी संक्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी संक्रमित भएर पनि उपचारमा खटिएका छन् । अस्पतालले आफैपनि चिकित्सकसहित ६० जना स्वास्थ्यकर्मी करारमा भर्ना गर्दैछ ।

 

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech