छैन रेम्डेसिभिर इन्जेक्सन, बिरामीका आफन्त दिनभर भौतारिदै

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमित गम्भीर प्रकृतिका बिरामीहरुलाई प्रयोग गर्ने गरिएको रेम्डेसिभिर इन्जेक्सनको बाँकेमा अभाव भएको छ। चिकित्सकहरुले कतिपय बिरामीहरुलाई रेम्डेसिभिर इन्जेक्सन लगाउन सिफारिस गर्ने गरेको भएपनि बिरामीका आफन्तले भने त्यो पाउन सकेका छैनन् ।

सबैजसो फार्मेसीहरुमा खोजिसके तर पाउँन सकिन कोभिड संक्रमित सानिमाको उपचार गराइरहेका एकजनाले भने ।यसरी अहिले धेरै बिरामीका आफन्त रेम्डेसिभिर खोज्न आउने गरेको एकजना फार्मेसी सन्चालकले स्वास्थ्य पेजलाई भन्नुभयो । केहिदिन अघिसम्म जिल्लामा रेम्डेसिभिर पाइन्थ्यो, तर अहिले एउटा डोज भेटाउन नि सकिदैन- उहाँले थप्नुभयो। रेम्डेसिभिर इन्जेक्सन कोभिड डेडिकेटेड अस्पतालमा मात्र पाइन्थ्यो तर बिरामीका आफन्त भने कतै पाउँछ कि भनि हरेक फार्मेसीमा पुग्छन् ।

चिकित्सकहरूले संक्रमितलाई रेम्डेसिभिर इन्जेक्सन लगाउनुपर्ने भएकाले बिरामीका आफन्तलाई खोजेर भएपनि ल्याउन भन्छन्, तर काहाँ खोज्नु एकजना फर्मासिस्टले स्वास्थ्य पेजसँग भने भारतमा समेत पाउन मुस्किल छ ।संक्रमित सिकिस्त बिरामीलाई लगाइने रेम्डेसिभिर खोज्न अहिले अस्पतालमा भर्ना भएका बिरामीका आफन्त दिनभर भौतारिन्छन् ।

बाँकेमा संकमण तिब्र रुपमा फैलिएको र गम्भीर बिरामीहरुको संख्या एक्कासी बढेकाले पनि रेम्डेसिभिर इन्जेक्सनको स्टक चाडै सकिएको भेरी अस्पतालको अस्पताल फार्मेसीका ईन्चार्ज फर्मासिस्ट पदम अर्यालले बताउनुभयो । संक्रमित संख्या अस्वभाविक रुपमा बढ्यो, भएको सबै सकियो, अहिले यसकै लागि सयौं कल आउँछन् ।

बिरामीहरु हार गुहार गर्नुहुन्छ तर नभएको काहाँबाट ल्याउनु, हामीपनि चिन्तित छौ अर्यालले भन्नुभयो । उता कोभिड संक्रमित बिरामीहरुको उपचार हुदै आएको नेपालगन्ज मेडिकल कलेजको फार्मेसीमा पनि अहिले रेम्डेसिभिर छैन । अस्पतालका फार्मेसीमा कार्यरत एक कर्मचारीका अनुसार अहिले रेम्डेसिभिरको स्टक सकिएको छ , बिरामीहरु आउनुहुन्छ दिनलाई छैन ।

बंगलादेशबाट ल्याउने प्रक्रिया भइरहेको सुनेका छौं, सोमबार-मंगलबारसम्म आउँछ कि भन्ने आशमा छौं, भेरीका फर्मासिस्ट पदम अर्यालले बताउनुभएको छ । बंगलादेशका दुई कम्पनीलाई ३० हजार डोज रेम्डेसिभिर ल्याउने अनुमति दिइसकिएको भन्दै केहिदिनमै बजारमा देखिएको अभाव पूर्ति हुने औषधि व्यवस्था विभागले जनाएको छ । यसअघि पनि बाँकेमा सजिलै भने रेम्डेसिभिर पाइएको थिएन । निजिकेहि फामेर्सीले ४६०० रुपैया जति पर्ने इन्जेक्सनको ७५०० सम्म लिईएको गुनासो आएको थियो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको केहिदिन अघिको बैठकले पनि जिल्लामा गम्भीर बिरामीका लागि प्रयोग हुने इन्जेक्सन रेम्डेसिभिर दैनिक २०० भाइल खपत भैरहेकोमा हाल त्यसको अभावमा बिरामीको उपचारमा समस्या भईरहेकाले कम्तीमा ३००० भाइल औषधी उपलब्ध गराई दिन सिफारिसका लागि भेरी अस्पतालबाट अनुरोध आएकाले उक्त औषधी उपलब्ध गराई सहयोग गरिदिन सीसीएमसी र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको थियो ।

 

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech