अक्सिजन लेभल ९४ भन्दा तल छ ? ढिला नगरि अस्पताल जानुहोस् !

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

काठमाडौं: कोभिड संक्रमण तिब्र रुपमा फैलिरहेको छ । संक्रमण अहिले नै नियन्त्रणमा आउला भन्न सकिने अवस्था छैन । समुदाय स्तरमा भुसको आगोझै सल्किएको भाइरसले अहिले संक्रमणको दर हेर्दा सबैलाई छोइसकेको अनुमान लगाउन सकिन्छ । अस्पतालका बेड भरिभराउ छन् ।

सिकिस्त बिरामीहरुका लागि अस्पतालका बेड खाली गर्न लक्षण नभएका, कम लक्षण भएकाहरु होम आइसोलेसनमा बस्नुको विकल्प छैन । बाँकेमा अहिले दैनिक ५०० देखि ६०० सम्म संक्रमित फेला परिरहेका छन् । संक्रमण पुष्टि भएका अधिकांश होम आइसोलेसनमा छन् । र होम आइसोलेसनमा बस्नुको अर्को विकल्प पनि छैन ।

होम आइसोलेसनमा बसेका कतिपय संक्रमितहरु केहिदिनमा समस्या आएर अस्पतालसम्म पुग्ने र ज्यान गुमाउने गरेको नि देखिएको छ । संक्रमण पुष्टि भएर सुरुमा घरमै बसेर पछि समस्या आउँदा अस्पताल गएर ज्यान गुमाउँछन्, खास किन हो ? हामीले भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्र जंग शाहलाई सोधेका थियौ । उहाँले कतिपय संक्रमितहरुले घरमा नियमित मनिटर गर्नुपर्ने अक्सिजन लेभल मनिटर नगर्ने गरेको पाइएको जानकारी दिनुभयो । यसरी पल्स अक्सिमिटरले अक्सिजन मनिटर नगर्दा शरिरमा अक्सिजन लेभल झरेको थाहा नभई धेरै ढिला अस्पताल पुग्दा त्यस्ता दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ ।

खास अक्सिजन लेभल कति हुँदा स्वास्थ्यकर्मीसँग सल्लाह वा अस्पताल पुग्नुपर्छ ?

अक्सिजन लेभल घरमा पल्स अक्सिमिटरले मनिटर गर्न सकिन्छ । सजिलै लेभल थाहा पाउन सकिने यसलाई स्याचुरेसन प्रोब समेत भनिन्छ । सर्जिकल पसलमा सजिलै उपलब्ध हुने यो मेसिनको मद्दतले कोभिड संक्रमित बिरामीहरुले समय समयमा शरिरको अक्सिजन लेभल नाप्नुपर्छ ।

अक्सिजन लेभल ९४-९३ भन्दा कम भए निमोनिया सुरु भएको आशंका गर्न सकिने चिकित्सकहरु बताउँछन् । कोभिड संक्रमित बिरामी जो घरमै बसेर स्वास्थ्य लाभ गरिरहुनभएको छ, उहाँले लेभल ९४ भन्दा तल भए तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

लेभल कम हुदै गए चिकित्सकहरुको निगरानीमा रहेर उपचार सुरु गर्नुपर्ने हुन्छ । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ, तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउन, छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल र एन्टिबायोटिक) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्ने सल्लाह डा. रविन्द्र पाण्डेले दिनुभएको छ ।

होम आइसोलेसनमा बस्नुभएका संक्रमित बिरामीहरु केहि समस्या महशुस गरे तुरुन्तै अस्पताल जानुपर्छ । एकै रातमा अवस्था क्रिटिकल हुनसक्छ, तसर्थ गाह्रो भएमा भोली अस्पताल जान्छु भनि बस्न नहुने चिकित्सकहरु बताउनुहुन्छ । डा. रविन्द्र पाण्डेले सामाजिक सन्जालमा होम आइसोलेसनमा रहेका विरामीहरुलाई स्वास्थ्य सन्देश दिदै जांच नगरी घरमा अक्सिजन दिएर नबस्न अनुरोध गर्नुहुन्छ ।

अक्सिजनले रोग निको गर्दैन, चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन, धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था रहेको भन्दै यस्तो नगर्न उहाँ आग्रह गर्नुहुन्छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech