बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ६ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ६ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा उनिहरुको मृत्यु भएको हो । कोभिड संक्रमित पाँच जनाको मेडिकल कलेजमा र एकजनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

संक्रमणका कारण तुलसीपुर उपमहानगरपालिका-१७ दाङका ४५ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-६ का ४७ वर्षिय महिला, कृष्णनगर नगरपालिका-५ कपिलवस्तुका ५१ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१० का ५५ वर्षिय महिला, कोहलपुर नगरपालिका-११ का ३५ वर्षिय पुरुष र दंगीशरण गाउँपालिका १ दाङका ६० वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

दाङ तुलसीपुर-१७ का ४५ वर्षिय पुरुष स्वास्थ्या समस्या आएपछि बैशाख १६ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि भर्ना हुनुभएको थियो ।१७ बैशाखमा पीसीआर परीक्षण गर्नुभएका उहाँको हिजो ३ बजेतिरै मृत्यु भइसकेको अस्पतालले भनेको छ ।

नेपालगन्ज-६ का ४७ वर्षिय महिला स्वास्थ्यमा समस्या आएपछि बैशाख १५ गते मेडिकल कलेज कोहलपुरमा भर्ना हुनुभएको थियो । बैशाख १६ मा पीसीआर परीक्षण गरिएको र १७ बैशाख करिब ९:३० बजेतिर उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

त्यस्तै कपिलवस्तुका ५१ वर्षिय पुरुष स्वास्थ्य उपचारका लागि १५ बैशाखमा नेपालगन्ज मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । १६ बैशाखमा पीसीआर परीक्षण गर्नुभएका उहाँको १७ बैशाख करिब १० बजेतिर मृत्यु भएको हो । नेपालगन्ज १० का ५५ वर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछि बैशाख १३ मा पीसीआर परीक्षण गर्नुभएको थियो । १४ बैशाखमा अस्पताल भर्ना हुनुभएका उहाँको आज बिहान ४ बजेतिर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उता कोहलपुर नगरपालिका-११ का ३५ वर्षिय पुरुष स्वास्थ्य उपचारका लागि बैशाख १० गते अस्पताल भर्ना हुनुभएको थियो। ११ बैशाखमा पीसीआर परीक्षण गर्नुभएका उहाँको गएराति १२:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै दंगीशरण दाङका ६० वर्षिय पुरुष मेडिकल कलेजमा ८ गते उपचारका लागि भर्ना हुनुभएको थियो ।

११ गते पीसीआर परीक्षण गर्नुभएको उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ४ बजेतिर मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आउनुभएका ११७ जना र बाँकेकै ११८ जनाको मृत्यु भईसकेको छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech