‘कोहलपुुरमा बनेका आईसीयू बेडको माग भारतमा, तर बाँकेमा मगाइन्छ बाहिरबाट’

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

कोहलपुरः कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि अहिले देशभरका अस्पतालमा शैया अभाव सुरु भएको छ । संक्रमित बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु र गम्भीर संक्रमितका बिरामी अधिकांश भेटिनुले पनि अहिले अस्पतालका शैया भरिभराउ छन् ।

संक्रमण समुदायस्तरमा फैलिएको र संक्रमण नियन्त्रणमा नआएका कारण पनि अधिकांश जिल्लामा स्थानिय तहहरुलाई पनि कोभिड बिरामीको उपचारका लागि शैया व्यवस्थापन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रहरुले भनिरहेका छन् । स्थानिय सरकारलाई पनि नागरिकको जिवन रक्षाका लागि अहिले गम्भीर बनि उपचार केन्द्र, आइसोलेसन सेन्टरहरुको व्यवस्थापनको विकल्प छैन ।

भारतमा संक्रमण तिब्र छ, नेपालमा उस्तै अहिले आइसियू बेडहरु करिब भरिभराउ छन् । आईसियू बेड उत्पादन गरिरहेको कोहलपुर–९ पिपिरीमा रहेको युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिले संक्रमण दर बढ्दै जाँदा बेडको माग बढिरहेको जनाएको छ ।

‘हामी अस्पतालाई चाहिने सामान्य देखि आईसियू बेडहरु सम्म बनाइरहेका छौं प्रालिका संचालक सतिष केसीले भन्नुभयो–‘अझ यो माहामारीमा जताततै शैया अभाव भएपछि स्थानिय सरकारले बनाउने अस्पताल, आइसोलेसन सेन्टर लगायतलाई चाहिने बेडहरुको अभाव नहोस् भनेर अहिले रातदिन बेड तयार गरिरहेका छौं ।’

शैया थप्न चाहानेहरुलाई यसको अभाव महशुस हुन नदिने संचालक केसीको भनाइ छ । उहाँका अनुसार अस्पतालहरुका लागि चाहिने बेड बनाउन सुरुमा ५ जना कर्मचारी खटिएका थिए । तर अहिले बढ्दो माग र अभाव हुन नदिन कम्पनीले ३० जना कर्मचारी थपेको जनाएको छ ।

स्वास्थ्य पेजसँग कुरा गर्दै प्रालिका सन्चालक केसीले आफुहरुले पहिलो पटक देशमा भएको लकडाउनकै बिच उत्पादन सुरु गरेको भन्दै यो बीचमा भारतबाट समेत थुप्रै बेडको माग आएको जानकारी दिनुभयो । स्थानीय तहमा त्यति साथ नपाएको गुनासो गर्दै प्रालिका सन्चालक केसीले थप्नुभयो–‘बरु भारतबाट १५ हजार बढी बेडको माग आयो ।

अस्पताल, आइसोलेसन सेन्टरमा यदि बेड चाहिन्छ भने यही उपलब्ध छ सेटअप पनि हामीनै गर्छौ ।’ आइसियू तथा सामान्य बेडहरु पर्याप्त मात्रामा स्टक रहेको प्रालिले जनाएको छ । देशका थुपै्र जिल्लाबाट माग आईरहेको छ, तर बाँकेमा रहेको कम्पनीमा बाँकेबाटै माग नआउँदा दुख लागेको सन्चालक केसीले बताउनुभयो ।

बाँकेका स्थानिय सरकारहरुलाई चाहिने शैयाहरु बाहिरबाट मगाउँदा आर्थिक रुपमा खर्चिलो हुने भन्दै स्थानिय उत्पादनलाई प्राथमिकता दिन उहाँले आग्रह पनि गर्नु भएको छ ।

कम्पनीले अहिले नर्मल बेडलाई रु ८ हजार र वान साइड फोल्डिङ बेडलाई १३ हजार रुपैयाँमा विक्री गरिरहेको जनाएको छ । अन्तराष्ट्रिय मापदण्डको आईसियू बेड उत्पादन हुँदै आएपनि यहाँका केही अस्पताल बाहेक अरुले कमिशनको चक्करमा अनेत्रैबाट बेड मगाउने गरेका छन् ।

 

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech