सुदूरपश्चिममा संकटको संकेतः अस्पतालका शैया भरिए, अधिकांशलाई अक्सिजन सपोर्ट

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

धनगढीः धनगढीस्थित सेति प्रादेशिक अस्पतालको कोरोना विशेष वार्ड विरामीले भरिएका छन् । बेड अभावमा ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । कोभिडका लागि बनाइएका ५५ बेड प्याक भएका छन् । कुनाकाप्चामा अरु बेड थपरेर अहिले ६० जनाको उपचार भइरहेको अस्प्तालले जनाएको छ । उनीहरूमध्ये १२ जना आईसीयू, तीन जना भेन्टिलेटर, ३५ जना अक्सिजन सपोर्ट र १० जनालाई अवस्थाअनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार दिउँसोसम्म इमर्जेन्सी वार्डमा रहेका १६ शैया पनि भरिएपछि बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डका इन्चार्ज समेत रहेका सिनियर अहेव भरत खातीले अवस्था भयावह बनिसकेको बताउनुभयो ।

‘श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको उहाँको भनाइ छ ठाउँ नभएर धेरै बिरामीलाई ग्यालरीमा व्यवस्थापन गरिएको छ । कतिपय त घरबाटै बेड लिएर बसेका छन् ।

आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिण्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

सूचना अधिकारी श्रेष्ठले भन्नुभयो-‘अहिले ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिण्डरको आवश्यकता पर्छ ।’

कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उहाँको भनाइ छ । संक्रमित थपिंदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्ने श्रेष्ठले बताउनुभयो । गर्मीका कारण लोड धान्न नसक्दा अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने समस्या देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले भने अक्सिजनको कमी हुन नदिने गरी कोरोना संक्रमितको उपचार व्यवस्था गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको छलफलमा कोरोना संक्रमितको उपचारका अक्सिजनको अभाव हुन नदिइने निर्णय गरिएको हो।

बिहीबारको बैठकमा प्रदेशभरीका सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भइरहेको जानकारी गराइएको थियो। साथै, अक्सिजन प्लान्ट निर्माण सम्पन्न नभएको अवस्थमा बाहिरबाट आयात गरेर भएपनि अक्सिजनको व्यवस्था गरिने निर्णय गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयका १ जना सदस्यले जानकारी दिए।

कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालको कोभिड आइसोलेसनमा बिरामीको चाप बढेकाले अर्को आइसोलेसन निर्माण गर्ने निर्णय समेत भएको छ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech