लकडाउन गर्दापनि संक्रमण नियन्त्रणमा नआउनुको कारण खुलाउँदै डाक्टर भन्छन् –‘समुदायमा फैलिसकेको थियो, ढिला भयो ।’

    • समिरमान श्रेष्ठ

  • १६ बैशाख २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्ज भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुना मध्ये ७४ दशमलव ३ प्रतिशतमा भाइरस संक्रमण पुष्टि भयो ।

त्यसको अघिल्लो दिन ३६ घण्टाको नमुना परीक्षण गरिएकोमा ८० प्रतिशतबढीलाई भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भयो । संक्रमण पुष्टि भएकामध्ये ९० प्रतिशत बढी नेपालगन्ज उपमहानगरपालिकाका छन् ।

भाइरस संक्रमणको चेन ब्रेक गर्न नेपालगन्जमा लकडाउन गरिएको डेढ साता वित्नै लाग्दा समेत संक्रमितको संख्या किन यसरी बढिरहेको हो ? संक्रमणको रेसियो दर घट्नु पर्ने होइन र ? भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.खगेन्द्र जंग शाहले समुदाय स्तरमा फैलिएका कारण संक्रमणको दर घट्न नसकेको बताउनुहुन्छ ।

समुदायस्तरमै भाइरस संक्रमण फैलिसकेकाले अहिलेको मुभमेन्टसँग यसको सरोकार नभएको उहाँको तर्क छ । भाइरस संक्रमणको चेन बेक्र गर्न गरिएको लकडाउन निकै ढिला भएको उहाँको भनाइ छ । प्रशासनले मानिसको मुभमेन्ट रोक्न लकडाउन गर्यो तर लकडाउन गर्नुभन्दा पहिले नै घरघरमा भाइरस पुगिसकेको थियो कसरी संक्रमण दर घट्छ ?

अहिले समुदायका हरेकलाई संक्रमण भएको हुन सक्ने भन्दै डा.शाहले अवस्था थप जटिल र भयावह बनेको संकेत गर्नुभयो । मुभमेन्ट पूर्णरुपमा अझै नरोकिएको भन्दै शाहले स्वम् व्यक्ति संवेदनशिल नभएसम्म माहामारी जित्न नसकिने बताउँनहुन्छ ।

अस्पतालमा ओपीडी बन्द भएपनि फिवर क्लिनिकमा अधिकांश बिरामीहरु आउने र त्यही आएकाहरु धेरैमा संक्रमण देखिने गरेको उहाँले बताउँनुभयो ।

संक्रमण दरसँगै मृत्युदर समेत निरन्तर उकालो लागिरहेको प्रशंग निकाल्दै डा.शाहले होम आइसोलेसनमा बसेका संक्रमितहरुले अक्सिजन लेभल चेक नगर्ने, ज्वरोमा मात्र ध्यान दिने गरेको देखिएकाले निरन्तर अक्सिजन लेभल जाँच गरिरहन र स्वास्थ्यकर्मीको निगरानीमा बस्न आग्रह गर्नुहुन्छ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech