भेरीमा उपचाररत कोरोना संक्रमितलाई पहिलो पटक टोसिलिजुम्याब नामक औषधि दिइयो,विरामीको अवस्थामा सुधार

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, डा.निर्मल शाक्य, डा राजेश मण्डललगायत मेडिसिन विभागको टिमले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका ती बिरामीलाई यो औषधि दिएको हो ।


    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितलाई टोसिलिजुम्याब नामक औषधि दिइएको छ । कोभिडका कारण गम्भीर अवस्थामा पुगेका नेपालगन्जका ५५ वर्षीय संक्रमित पुरुषलाई इन्जेक्सनमार्फत यो औषधि दिइएको हो ।

ती संक्रमित पुरुष चिकित्सकका बुवा हुनुहुन्छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, डा. निर्मल शाक्य, डा.राजेश मण्डललगायत मेडिसिन विभागको टिमले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका ती बिरामीलाई यो औषधि दिएको हो ।

सम्भवतः कोभिडका लागि नेपालमै पहिलो पटक संक्रमितलाई यो औषधि प्रयोग गरिएको हो । कोभिडै कारण गम्भीर भइ, दुवै फोक्सोमा निमोनिया भएर अक्सिजन दिनु परेको र अन्य सेकेन्डरी इन्फेक्सन नभएका बिरामीलाई अहिले यो औषधि दिने गरिएको छ । ‘दुवै फोक्सोमा निमोनिया भएको र डेक्सोनाले पनि विरामीको अवस्थामा सन्तोजनक सुधार नभएपछि यो औषधि दिने सकिन्छ’– डा.पाण्डेको भनाइ छ ।

उहाँले आईसीयू र भेन्टिलेटरमा रहेका सिकिस्त बिरामीको उपचारका लागि विदेशमा यो औषधिको प्रयोग भैरहेको भन्दै आफुहरुले विरामीको उपचारको लागि पहिलो पटक कोभिडका लागि यसको प्रयोग गरिएको स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । खास यो औषधि कडा खालको बाथ भएका बिरामीलाई प्रयोग गरिने गरेको भएपनि अहिले भने कोभिडकै कारण एकदमै सिकिस्त बनेका, अक्सिजन आवश्यक पर्ने र अन्य सेकेन्डेरी इन्फेक्सन नभएका बिरामीमा समेत प्रयोग गर्ने गरिएको डा.पाण्डेको भनाइ छ ।

‘रेमडिसिविर, प्लाज्मा थेरापी जस्तै यस्को प्रभावकारीता बारे पनि अध्ययन भइरहेको छ डा पाण्डेले भन्नुभयो–‘संक्रमित व्यक्तिलाई प्रयोग गरिएपछि उनको अवस्थामा आएको सुधारले हामी सन्तुष्ट छौं ।’ टोसिलिजुम्याबको प्रयोगपछि ती संक्रमित व्यक्तीको स्वास्थ्य अवस्थामा सुधार आएको छ भने छातिको एक्स रे रिपोर्टमा पनि आशातित सुधार देखिएको छ ।

‘इन्जेक्सन दिनु अगाडि उहाँ (संक्रमित व्यक्ति) लाई सतप्रतिशत अक्सिजन दिनु पर्ने अवस्था थियो उहाँले भन्नुभो–‘अहिले ७० प्रतिशत अक्सिजन दिए पुग्छ ।’ नेपालमा दर्ता नभएपनि विश्व महामारीको चपेटाको यो अवस्थामा विभिन्न उपाय अवलम्वन गर्ने क्रममा टोसिलिजुम्याब नामक औषधि प्रयोग गरिएको डा पाण्डेले बताउनुभयो ।

चिकित्सककै बुवा भएकाले उहाँसँगको पर्याप्त छलफल र रायपछि विरामीलाई औषधि दिन सहज भएको पनि उहाँले स्पष्ट पार्नु भएको हो । यो औषधी एक महिना अगाडि भारतबाट मगाइएको थियौं । ‘एकजना बिरामीको लागि मगाएका थियौं, डा पाण्डेले भन्नुभयो–‘तर इन्जेक्सन दिन नपाउँदै ती विरामीको मृत्युभयो ।’ त्यही औषधि कोभिडको लागि प्रयोग गरिएको हो ।

आफ्नो टिमले धेरै कुराको अध्ययनपछि यसको प्रयोग गरेको भन्दै संक्रमितको अवस्थामा सुधार आउनेमा आफु आशावादी रहेको पनि डा पाण्डेले बताउनुभयो ।

यो इन्जेक्सन (४- ८ mg\kg body weight) अनुसार विशेषज्ञ चिकित्सकको विशेष सिफारिस र निगरानीमा दिइन्छ । र, सुधार नभए १२ देखि २४ घण्टामा दोहोराएर दिने गरिन्छ । सिकिस्त संक्रमितका लागि भारत लगायतका देशमा प्रयोग भैरहेको यसको मुल्य एक भाइलको पचास हजार भारु सम्म पर्ने बताइन्छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech