भयावह कोरोनाः वडाअध्यक्षकी श्रीमतिको अक्सिजनयुक्त बेड नपाएर मृत्यु

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

बुटवलः रुपन्देहीमा कोरोना संक्रमित एक जना महिलाको बेड अभावमा मृत्यु भएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती हुन् ।

कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै मृत्यु भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो ।

देवदहका मेयर हिरा खत्रीले बिहानैदेखि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गरेका थिए तर कतै पाएनन् ।

केही सीप नलागेपछि प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राख्न बाध्य भए । तर अत्यावश्यक उपचारको अभावमा संक्रमित महिलाको दिउसो ४ बजे मृत्यु भयो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७५ पुगेको छ । जिल्लामा २ सय ९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech