कोभिड वार्डमा खटिएका डाक्टर भन्छन्–‘छट्पटाउँदै विरामीको आँखै अगाडी मृत्यु हुँदा लाचार हुनु पर्छ ।’

लामो समयसम्म लगाएको ग्लोब्सले बाँफिएर हातका औंलाहरु सेता छन् । हत्केलाका छाला चाउरिएको छ ।


    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

लामो समयसम्म लगाएको ग्लोब्सले बाँफिएर हातका औंलाहरु सेता छन् । हत्केलाका छाला चाउरिएको छ । घण्टौंसम्म लगाइएको पीपीइले शरिरमा मसिना दाना निस्किएका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा संक्रमितको उपचारमा सात दिन विताएका डा विनोद प्याकुरेलको अवस्था हो यो । न भोक, न प्यास, नत निद्रा उहाँ भन्नुहुन्छ–‘संक्रमितको उपचार गर्दा गर्दै आफै विरामी परे ।’ सोमवार कोभिड आइसोलेसनबाट निस्किएका डा प्याकुरेल अहिले औषधि लिएर होमआइसोलेसनमा बस्नुभएको छ ।

उहाँको पीसीआर रिपोर्ट आज आउने छ । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु सात–सात दिनको पालो लगाएर कोभिड आइसोलेसन वार्डमा डिउटी गर्छन् । त्यसैअनुसार डा प्याकुरेलको पनि पालो आयो । हप्ताको सुरुवातमा कोभिड वार्डमा तीनचार जनामात्रै विरामी थिए । उपचार र व्यवस्थापनमा खासै समस्या परेन् ।

तर त्यसको दुई तीन दिन पछि विरामीको चाप थामिनसक्नु गरि बढ्न थाल्यो । संक्रमित विरामीहरुले बेडहरु भरिए । अधिकांश विरामी लक्षणसहित थिए । अक्सिजन सपोर्ट दिनु पर्ने विरामीको संख्या धेरै । त्यसमा योङ उमेरका व्यक्तिहरु । संक्रमितको संख्या यसरी बढ्यो की भएको जनशक्तिले पनि थेग्न नसक्ने भयो । ग्लोब्स, पीपीइ, फेसशिल्ड लगाएर घण्टौंसम्म विरामीको उपचारमा खटिनु पर्ने अवस्था आयो । ‘न भोक, न त प्यास, न निद्रा, न त डर डा प्याकुरेल भन्नुहुन्छ–‘विरामीको चित्कार र पीडाले घण्टौ समय पनि एकैछिनमा वितेको जस्तै लाग्ने ।’

आँखै अगाडी विरामी छटपटाउँदै मर्दा लाचार भएर हेरिरहनु बाहेक अर्को विकल्प नभएको बताउनुभयो । ‘एउटा चिकित्सकले अस्पतालमा आइपुगेको विरामीलाई बचाउन हरसम्भव प्रयास गर्छ डा प्याकुरेल भन्नुहुन्छ–‘तर आँखै अगाडी योङ व्यक्तिहरु फयाट फयाट मर्दाको पीडा असह्रय छ ।’ कोभिड वार्डमा २८ बर्षका युवा उपचाररत थिए । उनको अवस्था हेरेर सबै प्रकारको औषधि सपोर्ट दिने काम भइरहेको थियो । एक्कासी उनी सास फेर्न गाह्रो भयो भन्दै छटपटाउन थाले ।

तत्काल उनलाई वार्डबाट तानेर डा प्याकुरेलले भेन्टिलेटरमा पुर्याए । उनी कहिल्यै नउठ्ने गरी अस्ताए । बोल्दै गरेको एउटा युवक हेर्दा हेर्दै मृत्युवरण गरे । डा प्याकुरेललाई सबैभन्दा बढी पीडा बोध भयो । ‘आँखै अगाडी बोल्दै गरेका विरामी मर्दा निकै पीडा हुँदो रहेछ’ उहाँ थप्नुहुन्छ । कोही छटपटाइरहेका हुन्छन् । कोही कराई रहेका हुन्छन् । आइसोलेसन वार्डमा कोरोनाको चीत्कारले निकै पीडा दिँदो रहेछ ।

कोरोना केही होइन भन्ने सोच आजै देखि हटाऔं । हामी तपाईको ज्यान जोगाउँन आफ्नो ज्यानको प्रवाह नगरि अस्पतालमा खटिएका छौं । जवसम्म सरकारले बनाएका निर्णयलाई हामीले आत्मअनुशासन भएर पूर्णरुपमा पालना गर्दैनौं अवस्था अझ भयावह हुने छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरौं ।

(नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत डा बिनोद प्याकुरेलसँग गरिएको कुराकानीका आधारमा)

 

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech