सुर्खेतमा भोलिराती १२ बजेदेखि लागु हुने निषेधाज्ञा जारी

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

सुर्खेतः कोरोना संक्रमण बढ्दै गएपछि भोलि मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उहाँले बताउनुभयो । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन हुनेछन् । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशमा सक्रिय संक्रमित ४ सय ११ जना पुगेका छन् ।

प्रदेशमा निजी र सरकारी अस्पतालगरी ७२ वेड आइसीयू र ३४ वटा भेन्टिलेटर छन् । सुर्खेत, दैलेख, जुम्ला र रुकुमपश्चिममा गरी अहिले प्रदेश सरकार मातहतका चारवटा कोभिड अस्पताल छन् । पीसीआर परीक्षण र संक्रमितको उपचार भने प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मात्र हुने गरेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा कोभिड व्यवस्थापनका लागि ८८ करोड बजेट व्यवस्था गरेको भएपनि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्न नसक्दा दोस्रो चरणको संक्रमणसँग जुध्न सहज नहुने स्वास्थ्यकर्मी बताउँछन् ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech